आशा स्कुल सहयोगार्थ तेर्रा ब्याण्ड बार्सिलोनामा गुञ्जदै


बार्सिलोना। आशा बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको सहयोगार्थ  तेर्रा म्युजिकल ब्याण्ड बार्सिलोनामा गुञ्जने भएको छ। फ्यामिलिया दि हेटौडा गैर सरकारी संस्थाले शुक्रबार बार्सिलोनामा आयोजना गर्ने कार्यक्रममा ब्याण्डले प्रस्तुति राख्न लागेको हो। मकवानपुरको हेटौडा नगरपालिका -६ गौरीटारमा रहेको स्कुलमा सुस्तमनस्थिति भएका बालबालिकाहरुको सहयोगार्थ कार्यक्रमबाट सहयोग जुटाउने लक्ष्य राखिएको छ। सोहि ब्याण्डका एक सदस्य हेटौडामा नै पुगेर स्कुलको अबलोकनपछि सहयोगका लागि ब्याण्ड तातिएको हो।

त्यसो त हरेक बर्ष सहयोग संकलनका लागि फ्यामिलिया दि हेटौडाले बार्सिलोनामा कार्यक्रम राख्दै आएको छ। गत बर्ष दि बिटीङ् सोल ब्याण्डले प्रस्तुति राख्दै कार्यक्रमबाट ४ लाख रुपैयाँ संकलन भएको थियो। उक्त कार्यक्रमलाई २ सय भन्दा बढि स्पेनिसहरुले हेरेका थिए।

छुट्टी मनाउन सात बर्ष अघि नेपाल पुगेकी आईना बार्का नेपालमा नै बसेर बालबालिकाहरुसँगै समय बिताईरहेकी छन्। ”म बिश्वास नै गर्न सक्दिन बर्षौ बितिसकेछ,यहाँहरु कै सहयोग र प्रेरेणाले काम गर्ने हौसला मिलिरहेको छ। डायस्फोराको  नेपाली समुदायबाट पनि ठुलो सहयोग पुगिरहेको छ।”आईनाले भनिन्।

कार्यक्रममा स्कुलका पछिल्ला गतिबिधिहरु समेटिएको भिडियो समेत देखाईने उनले जानकारी दिइन्। साथै स्टलमा नेपाली हस्तकलाका सागाग्रीहरु बिक्रि गरेर पनि सहयोग जुटाईने भएको छ। यसपटकको सहयोगबाट स्कुलमा रहेको छात्राबासलाई ब्यबस्थापन गरिने फ्यामिलिया दि हेटौडाले जनाएको छ।

कार्यक्रमबारे बिबरण :-

मिति :- १४ डिसेम्बर शुक्रबार

स्थान:- C/ Olzinelles 31 (la lleialtat santesca)

समय:- साँझ ७ बजे देखि

प्रबेश शुल्क:- १२ युरो