समृद्धिका लागी प्रकोप न्युनिकरण आवाश्यक ः विज्ञहरु


पोखरा । प्रकोप व्यवस्थापन विना आर्थीक समृद्धि र विकास सम्भव नहुने पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) प्रविधि संकायद्धारा आयोजित पहिरो नक्सांकन र जोखिम न्युनिकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका कृषी, भुमि व्यवस्थापन तथा सहकारी विकास मन्त्री लेख बहादुर थापाले समृद्धिका लागी प्रकोप व्यवस्थापन आवाश्यक रहेको बताए ।

प्राकृतिक तथा मानविय क्रियाकलापका कारण हुन सक्ने प्रकोपहरुको जोखिम न्युनिकरणका लागी समेत समुदायमा आधारित कार्यक्रमहरु संचालनमा उनले जोड दिएका छन् । प्रदेश सरकार नागरीकको जिउधनको सुरक्षाका लागी प्रतिवद्ध रहेको बताएका उनले आफ्ना खोज तथा अनुसन्धानहरुको व्यवहारीक प्रयोगमा नास्टलाई आग्रह समेत गरे ।

प्रा.डा शोभाकान्त लामिछानेले विज्ञान र प्रविधिका विभिन्न आयामहरुको समुचित उपयोग मार्फत समृद्धिको अभियानमा योगदान गर्नु पर्ने बताए । राष्ट्रको विकासमा वैज्ञानिक जनशक्तिको उपयोगमा उनले जोड दिए ।

भुगोलविद् प्रा.डा कृष्ण केसीले नास्टद्धारा विकास गरिएका प्रविधिहरु समुदायसम्म पुर्याउनु पर्ने बताए । ०७२ सालको भुकम्प पछि विपद् जोखिमका कारण समुदाय थप प्रभावित भएको बताएका उनले आवास्यक सचेतना समेत जगाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा अनुसन्धाता (रिसर्चर) राम प्रसाद रिजालले पुर्व सुचना प्रणाली, विज्ञ प्रेम बहादुर थापाले गण्डकी प्रदेशमा पहिरोका केन्द्र तथा जोखिम, प्रा.डा जिवराज पोखरेलले समुदायमा आधारीत जोखिम न्युनिकरण र नास्टका प्रविधि विभागका प्रमुख डा. रविन्द्र प्रसाद ढकालले जोखिम न्युनिकरणका सम्बन्धमा नास्टले गरेका गतिविधिहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पहिरोका कारण वितेको ७ वर्षमा १ हजार ६ सय ७२ जना तथा यस वर्ष मात्रै हाल सम्म २ सय ७५ जनाको ज्यान गैसकेको छ ।