सारङ्गी उत्सव काठमाण्डौमा, पोखरामा पत्रकार सम्मेलन


पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले राष्ट्रिय सारङ्गी उत्सव काठमाण्डौमा गर्ने भएको छ ।

सास्कृतिक संस्थान काठमाण्डौको सहकार्यमा कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रिय नाचघर, काठमाण्डौमा हुने उक्त उत्सवको वारेमा जानकारी दिन आईतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

आगामि साउन १२ गते हुने सो नेपाली लोक बाजा सारङ्गी उत्सवमा ७ वटै प्रदेशबाट करिब २० जना सारङ्गी वादकहरुको सहभागिता रहने र वरिष्ठ सारङ्गी वादक एक जनालाई २५ हजार नगद पुरस्कारसहित सम्मानपत्रद्धारा सम्मान गरिने सचिव श्रीजंग गुरुङले वताए ।

लोक स्रष्टा कल्याण शेरचनको ७२ औं जन्म जयन्तीमा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सहित हुने सारङ्गी उत्सवको लागि हालसम्म भगिनि संस्था रामवजार युकेले ५० हजार, सनत कुमार गुरुङ (हाल युके) बाट २५ हजार पाँच सय, दुर्गा गुरुङ (हाल इजराइल)बाट २० हजार, सल्लाहकार महेश गुरुङले १० हजार, अध्यक्ष जुमकाजी गुरुङले १० हजार सहयोग प्राप्त भइ सकेको र अन्य सहयोग आउने क्रम जारी रहेको कोषाध्यक्ष प्रदिप गौचनले वताए ।

सो अवसरमा वरिष्ठ सारङ्गी वादक, लोक गायक, वाटो छ भिरालो, जिरा मरिच र रेलको ढोका बन्द जस्ता चर्चित गितहरुका सर्जक कृष्णबहादुर गन्र्धवलाई सम्मान गरिने छ । कलाकार धनबहादुर गायकको संयोजकत्वमा गठित व्यक्तित्व छनौट उपसमितिले गन्धर्वलाई सिफारिस गरेको थियो ।
कार्यक्रम अवधिमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले स्रष्टा कल्याण शेरचनका गितहरुमा नृत्य प्रस्तुत गर्नेछन् ।

प्रतिष्ठानले हरेक वर्ष माघ २४ गते विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । २०६९ सालमा संस्था स्थापना पश्चात हालसम्म नृत्य प्रशिक्षक भैरवबहादुर थापा, फुटबल प्रशिक्षक डम्बरसिंग गुरुङ, शिक्षा विद् वलवीर सिंह नेगी, संगीतकार प्रकाश गुरुङ, पुर्व राष्ट्रिय खेलाडि एवं प्रशिक्षक खड्गबहादुर रानाभाटलाई सम्मान तथा अभिनन्दन गरिसकेको वताएको छ।

नेपाली लोक गीत तथा संगीतमा चर्चित गीतहरु सोह्र वर्षे उमेरैमा, आ हा कलिलो तामालाई, राम्दी पुल जस्ता गीतका सर्जक लोक स्रष्टा, साधक तथा शिल्पि कल्याण शेरचनको देहावसन पछि हिमाली साँस्कृतिक परिवारले २०६८ सालमा पश्चिमाञ्चल स्तरिय कौरा (चुट्का) प्रतियोगिताको आयोजना गरी संकलित रकमबाट २०६९ सालमा प्रतिष्ठान स्थापना गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।