४७ वर्षीय नायक श्रीकृष्ण श्रेष्ठको निधन,


काठमाडौ, साउन २५ –

नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको छ । निमोनियाको उपचार गराउन दिल्ली पुगेका श्रेष्ठको गएराति गंगाराम अस्पतालमा निधन भएको हो। हालसालै विवाह बन्धनमा बाँधिएका श्रेष्ठको ‘कोहीनूर’ फिल्म सिनेमा हलमा चलिरहेको छ । ४७ वर्षीय उनी दिल्लीस्थित गंगाराम अस्पतालमा डिप निमोनियाको उपचार गराइरहेका थिए ।

निर्देशक आकाश अधिकारीलाई उधृत गर्दै स्रोतले जनाएअनुसार एकसाता अघि मात्रै श्रीकृष्णलाई बोन क्यान्सर भएको पत्ता लागेको थियो । तर, उपचारका क्रममा उनलाई बोन क्यान्सर भएको पत्ता लागेको बताइएको छ । परिवारमा तनाव हुने भएकाले उनको रोग गोप्य राखिएको थियो । उपचारका क्रममा उनलाई केमोसमेत दिइएको बताइएको छ । श्रेष्ठ विगत दुई हप्तादेखि निमोनियाका रोगले ग्रसित थिए। कोहिनूरको पत्रकार सम्मलेनमा समेत उनी निमोनियाकै कारण अनुपस्थित थिए। स्वास्थ्य समस्या देखिएपछि कलाकार श्वेता खड्कासँग विवाह लगत्तै उनी उपचारको लागि दिल्ली गएका थिए ।  उनी २०४५ देखि चलचित्र क्षेत्रमा थिए ।

उनकै लगानीमा बनेको कोहिनूर शुक्रबारदेखि प्रदर्शन थालिएको छ । असार २३ गते श्वेतासँग विवाह गरेका श्रेष्ठ २७ गते उपचारको लागि दिल्ली गएका थिए ।

दशकअघि अल्सर भएपछि उनी अन्य रोगबाट पनि ग्रसित बनेका थिए । श्रेष्ठ र श्वेताले यसअघि ‘कहाँ भेटिएला’मा सँगै अभिनय गरेका थिए। श्रेष्ठले २०४७ सालमा भूँमरी चलचित्रबाट नायकको रुपमा फिल्मी करिअर सुरु गरेका थिए ।

उनले धर्ती, प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जूनी जूनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, गरिब, नाता, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झना, राम बलराम, कहाँ भेटियलालगायत एकसय बढी चलचित्रमा अभिनय गरेका छन् ।

आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला उनका हिट फिल्म हुन् । उनी नेपाली सिने जगतको विवादमा नपरेका कलाकार हुन् । बिशेषत पारिवारिक चलचित्रमा उनी रुचाइएका थिए । अनिनय र नृत्यको लागि श्रेष्ठको विशेष चर्चा हुने गरेको छ । शिव रेग्मी निर्देशित अधिकांश चलचित्रमा श्रेष्ठको भूमिका रुचाइएको थियो ।

उनी पछिल्लो समय होटल व्यवसायमा पनि संलग्न थिए ,श्रेष्ठका ८६ बर्षीय आमा छिन् ।