आदिवासी कविहरुले मातृभाषा कविताबाटै अधिकार मागे


पोखरा, २३ साउन

नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीको संयोजनमा कास्कीमा २० औं विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाउने क्रममा विहीवार राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्की र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीले बृहत मातृभाषा कवि गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा ३ नदिपुरस्थित थकाली सेवा समितिको सभाहलमा सम्पन्न कार्यक्रममा ८ मातृभाषाका २० कवि कवियत्रीहरुले कविता, मुक्तक, गजल वाचन गर्दै आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनीहरुले समाजमा भईरहेको जातिय, भाषिक, धार्मिक, राजनीतिक उत्पिडनको अन्त्यका माग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि इतिहास तथा सँस्कृतिविद डा.गेहेन्द्रमान उदासले मातृ भाषा नेपाल भाषाको कविता बाचन गरेर उद्घाटन गर्नुभएको कार्यक्रममा मगर ढुट, खाम, गुरुङ, नेपाल, थकाली, तामाङ, छन्त्याल, ह्योल्मो, भुजेलमा कविता वाचन गरिएको थियो ।

कविता वाचन गर्नुहुनेहरुमा फूलकुमारी थापामगर, रुद्र सन्देस मगर, लोकबहादुर थापामगर, पानबहादुर घर्ती भुजेल, अम्वर तुलाचन, क्या.नन्दबहादुर छन्त्याल, डा.गेहेन्द्रमान उदास पोखरेली, देविजंग गुरुङ, मीना थापामगर, रुद्र श्रीस मगर, पूर्ण ह्योल्मो, अशोक शेरचन, केयरसिंह गुरुङ, ना.सु.रामप्रसाद तामाङ, निशा घर्तीमगर, शान्ति उदास, दुर्गा घर्तीमगर, बुद्धि च्हम्रु गुरुङ, मनबहादुर गुरुङले मातृभाषामा कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. गेहेन्द्रमान उदास पोखरेलीले आदिवासी जनजातिका भाषा र वर्तमान अवस्था विषयेक कार्यपत्र प्रस्तुत गर्नुहुदै विगतको एकात्मक राज्यसत्ताले आदिवासी जनजातिका मौलिक भाषा, कला, सँस्कृति, धर्म, परम्परा लोप गराएको बताउनुहुदै नयाँ संविधानमा आदिवासी जनजातिको पहिचान मातृभाषाको विकासको सुनिश्चितता हुनुपर्ने माग गर्नुभयो । उहाँले आदिवासी जनजातिहरु पनि आफ्नो पहिचान संरक्षणमा जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमका समिक्षक जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पुर्व सचिव लोकबहादुर थापामगरले मातृभाषा हराउदै गइरहेको बेला बृहत मातृभाषा कवि गोष्ठीले मातृभाषा उत्थानका लागि टेवा पुर्याएको भन्नुहुदै भाषा समृद्ध हुनका लागि साहित्यीक रचनाहरुले महत्वपुर्ण भुमिका खेल्ने भएकाले श्रष्टाहरुलाई मातृभाषिक साहित्यमा जुट्न आग्रह गर्नुभयो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी अध्यक्ष राजकुमारी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती भुजेल र थकाली सेवा समिति पोखराका अध्यक्ष अम्बर तुलाचनले शुभकामना व्यक्त गर्नुभएको थियो भने राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी महासचिव मीना गुरुङले कविताबाटै स्वागत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले मातृभाषामै धन्यवाद मन्तव्य र फोनिजकी सचिव रोशनी गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यसै विच नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष एवं राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी उपाध्यक्ष फूलकुमारी थापामगरद्धारा लिखित पुस्तक कानुङ कुराको डा.गेहेन्द्रमान उदास पोखरेलीले विमोचन गर्नुभएको थियो ।

यसैगरी विश्व आदिवासी दिवस सप्ताह अन्तरगत शुक्रवार विहान नेपाल आदिवासी जनजाति युवा महासंघ कास्कीको आयोजनामा बृहत प्रचारात्मक मोटरसाईकल र्याली गरिने युवा महासंघका सचिव तोरण गुरुङले जानकारी दिनुभयो ।