आवश्यक परे सरकारको विकल्प खोज्ने एमालेको चेतावनी


२३ साउन, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसले एकलौटी सरकार चलाएको भन्दै आवश्यक परे सरकारको विकल्प खोज्ने चेतावनी दिएको छ ।

पार्टी मुख्यालय बल्खुमा बिहीबार साँझ बसेको एमाले पदाधिकारीहरुको बैठकले कांग्रेससँग निर्णायक वार्ता गर्ने निर्णय गरेको छ । ‘संयुक्त सरकार जस्तो भएन । एमालेका मन्त्रीहरुले लगेको प्रस्तावमा प्रधाममन्त्रीबाट सहयोग भएन’ सचिव योगेश भट्टराईले अनलाइनखबरसँग भने-’सातबुँदे सहमतिको कार्यान्वयनदेखि अहिलेसम्मको शीर्ष तहमा नै समिक्षा गर्छौं ।’

एमालेले प्रधानमन्त्रीसँग छलफल गर्नु अघि पार्टी मन्त्रीहरुसँग समेत छलफल गर्दैछ । ‘मन्त्रालयका समस्याहरु के-के छन् यसबारे मन्त्रीहरुसँग छलफल गर्ने निर्णय भएको छ’ सचिव पृथ्वी सुब्बा गुरुङले भने ।

पदाधिकारी र पार्टी मन्त्रीहरुको छलफल शुक्रबार ३ बजे राखिएको छ भने सचिवालयलाई तयारी गर्न निर्देशन दिइएको छ ।

शीर्ष तहमा हुने छलफलमा सरकारको नेतृत्व गरेको कांग्रेस सच्चिएर नआए सरकारको सहकार्य संकटमा पर्ने एमालेको चेतावनी छ ।

एमाले पदाधिकारीहरुको बैठकले नयाँ संविधानका विवादित अन्तरवस्तुयमा निष्कर्षमा पुग्ने गरी छलफल गर्नु पर्नेमा जोड दिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2014/08/177207/#sthash.398ppM7v.dpuf