पर्यटकीय विकासका लागि सडक सञ्जालको स्तरोन्नति आवश्यक : धनराज


पोखरा – नेपाली काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य धनराज गुरुङले पर्यटकीय विकासका लागि सडक सञ्जालको स्तरोन्नति आवश्यक भएको बताउनुभएको छ । नेपाल पर्यटन व्यवसायी संघ(निट) प्रदेश नं ४ द्वारा आज पोखरामा आयोजित लोकतान्त्रिक पर्यटन व्यवसायी बीच भेटघाट तथा बनभोज कार्यक्रममा उहाँले पर्यटनको विकासका लागि यहाँका सडकको स्तरोन्नति अपरिहार्य भएको बताउनुभयो ।

लुम्बिनी हुँदै मुक्तिनाथ जोड्ने सडक मार्ग सुरक्षित हुने गरी स्तरोन्नति गरिनुपर्नेमा जोड दिदै उहाँले विकासको बाधकका रुपमा भ्रष्टाचार रहेका कारण त्यसलाई सबैले निरुत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दीपक महतले प्रदेश नं ४ पर्यटकीय दृष्टिबाट धेरै सम्भावना युक्त क्षेत्र भएको बताउँदै यसको विकासका लागि सबैको एकतावद्ध प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।

नेपाल पर्यटन व्यवसायी संघ(निट) प्रदेश नं ४ का अध्यक्ष सोमबहादुर थापाले प्राकृतिक रुपमा धेरै सम्भावनायुक्त स्थलहरू यस प्रदेशमा रहेको बताउँदै यिनीहरूको प्रवद्र्धन र विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रदेशसभा सदस्यहरू विन्दुकुमार थापा, कुमार खड्का र ललितकला गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर श्रेष्ठ, निट प्रदेश नं ४ का बरिष्ठ उपाध्यक्ष शिव अधिकारी, उपाध्यक्ष नारायण सापकोटा, कार्यक्रम संयोजक जीवनाथ गौतम, मीलन गुरुङ लगायतले दीर्घकालिन सोचका साथ पर्यटकीय पूर्वाधारको विकास गर्न सके यस प्रदेशको आर्थिक समुन्नति सम्भव रहेकोमा जोड दिनुभयो ।

उक्त अवसरमा प्रदेशसभामा नेपाली काँग्रेसका तर्फबाट नव निर्वाचित प्रदेशसभा सदस्यहरू विन्दुकुमार थापा, कुमार खड्का र ललितकला गुरुङ एवम् रासस प्रदेश नं ४ का कार्यालय प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियो ।