नेपाल टेलिभिजनको अध्यक्षमा नीर शाह,७ सहसचिवको सचिवमा बढुवा


काठमाडौं, साउन २२ – मन्त्रिपरिषद्को वैठकले सात सहसचिवलाई सचिवमा बढुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले बढुवाका लागि सिफारिस भएका १७ सहसचिवमध्ये सातजनाको बढुवा गरेको हो।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार उत्तमकुमार भट्टराई, नरबहादुर रजवार, शरदचन्द्र पौडेल, अर्जुनकुमार कार्की, महाश्रम शर्मा, दीपेन्द्रनाथ शर्मा र विष्णुप्रसाद लम्साल बढुवा भएका छन्। उनीहरूमध्ये भट्टराई र रजवार वरिष्ठताका आधारमा बढुवा भएका हुन् ।
यस्तै, मन्त्रिपरिषद बैठकले उपमहालेखापरीक्षकमा गुणराज श्रेष्ठलाई बढुवा गरेको छ।
बढुवा भएका सचिवमध्ये महाश्रम शर्मालाई सरकारले बिहीबार नै पदस्थापन गरेको छ। अनिवार्य अवकाश पाउनु एक दिनअघि बढुवा भएका शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापना गरिएको हो।
बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा नीर शाहलाई नियुक्त गरेको छ।