रुसद्वारा खाद्य पदार्थ आयातमा प्रतिबन्ध


बीबीसी
रुसको पछिल्लो घोषणाले पश्चिमा मुलुकहरुलाई थप चिढ्याउने बताइएको छ
युक्रेनको विषयलाई लिएर आफूविरुद्ध लगाइएको नाकाबन्दीको बदलामा रुसले पश्चिमा देशहरुबाट हुँदै आएको खाद्य पदार्थ आयातमा प्रतिबन्धको घोषणा गरेको छ।
यो प्रतिबन्धको प्रभाव युरोपेली संघ, अमेरिका र रुसको युक्रेन नीतिलाई लिएर मस्कोविरुद्ध प्रतिबन्ध लगाउने केही पश्चिमा देशहरुमा पर्नेछ।
अर्को महत्वपूर्ण निर्णय लिदै रुसले भूतपूर्व अमेरिकी गोप्य सूचना विश्लेषक एडवार्ड स्नोदेनलाई तीन वर्ष रुसमा बस्न पाउने अनुमति दिएको छ।
युक्रेन नीतिलाई लिएर आफूविरुद्ध नाकाबन्दी लगाउने पश्चिमा देशहरुलाई लक्षित गर्दै रुसले ती देशहरुबाट एक बर्षकालागि खाद्य पदार्थको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको रुसी प्रधानमन्त्री दिमित्रि मेद्वेदेवले बताए।
प्रतिबन्ध
“युरोपेली युनियन इयुले रुसी वायु सेवा देब्रोलियतलाई लगाएको प्रतिबन्धको विरोधमा हामीले पनि पश्चिमा देशहरुको विमान रुसमाथि हुँदै उड्न दिने कि नदिने भनेर छलफल गरिरहेका छौं। त्यस्तो प्रस्ताव हाम्रो टेबुलमा छ”
दिमित्रि मेद्वेदेव, रुसी प्रधानमन्त्री
उनका अनुसार रुसले अब युरोपेली संघ, अमेरिका, अष्ट्रेलिया, क्यानडा र नर्वेबाट एक वर्षसम्म मासु माछा, फलफुल, सागसब्जी र दूधबाट बनेका पदार्थहरु आयात गर्ने छैन।
मेद्वेदेवले पश्चिमा विमानहरुलाई रुसमाथिबाट उड्न नदिनेबारे समेत सोचविचार भइरहेको बताए।
उनले भने, ”युरोपेली युनियन इयुले रुसी वायु सेवा देब्रोलियतलाई लगाएको प्रतिबन्धको विरोधमा हामीले पनि पश्चिमा देशहरुको विमान रुसमाथि हुँदै उड्न खिने कि नदिने भनेर छलफल गरिरहेका छौं। त्यस्तो प्रस्ताव हाम्रो टेबुलमा छ।”
साइबेरियाको आकाशबाट उड्न नपाए पूर्व जाने पश्चिमा वायुसेवाहरुको उडान महंगो हुन जानेछ।
मुद्रास्फिति
रुसले आफूलाई चाहिने खाद्य पदार्थको एकतिहाइ आयात गर्दै आएको छ।
बीबीसीका आर्थिक सम्वाददाता भन्छन्, रुसले त्यसरी खाद्य पदार्थको आयातमा प्रतिबन्ध लगाउने हो भने उसले आपूर्तिका नयाँ स्रोतहरु फेला पार्नुपर्छ, अन्यथा रुसमा मुद्रास्फिति ह्वात्तै बढ्न सक्छ।
अर्कोतिर रुसले भूतपूर्व अमेरिकी गोप्य सूचना विश्लेषक एडवार्ड स्नोडेनलाई तीन वर्ष रुसमा बस्ने अनुमति दिएको उनका एक वकिलले बताएका छन्।
अमेरिकाले स्नोडेनको राहदानी रद्द गरिदिएपछि रुसले उनलाई आफ्नो देशमा बस्न अस्थायी अनुमति दिएको थियो।