सहमतिको खुसीमा बालुवाटारमा भोज, नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता


 काठमाण्डौ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् । मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए ।, आजको नयाँ पत्रिकामा खबर छ ।

‘तपाईंहरूलाई कुनै औपचारिक बैठक या छलफलका लागि होइन, पार्टी एकीकरण गर्ने सहमतिको खुसियालीमा आयोजित डिनरमा बोलाएको हुँ,’ ओलीले संक्षिप्त धारणा राखेर डिनर लिन आग्रह गरेका थिए । ‘अनौपचारिक रूपमा खुसी साटासाटपछि हामी डिनर सकेर फर्कियौँ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने ।

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता
एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ ।

निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्टीको नाममा सामान्य भए पनि परिमार्जन गर्नुपर्नेछ । ०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो ।

एकीकरणको प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षर भएको छ, अन्तिम तयारी गर्न दुई कार्यदल गठन भएका छन्

राजनीतिक कार्यदल
एमाले : माधव नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त
माओवादी : नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल, देवेन्द्र पौडेल

विधान र संगठनात्मक कार्यदल

एमाले : ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ

माओवादी : रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव