चरीलाई चक्रपथभित्रै हत्या गरेर भीमढुंगामा नक्कली मुठभेड रचिएको एमाले सभासदको आरोप,गृहमन्त्रीको आलोचना


काठमाडौ, साउन २२ –

एमाले धादिङका सभासदहरुले प्रहरी कारवाहीमा मारिएका दिनेश अधिकारी ‘चरी’ को गैरन्यायीक हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।

संसद बैठकमा समय लिएर बोल्दै धादिङका एमाले सभासदहरुले गृहमन्त्री बामदेव गौतमको आलोचना गर्दै प्रहरीले बर्दीको आडमा गैरन्यायिक हत्या गरेको आरोप लगाएका थिए । अधिकारीलाई चक्रपथभित्र पक्राउ गरी गैरन्यायीक हत्या गरेर भीमढुंगामा प्रदर्शन मात्रै गरिएको उनीहरुको दाबी छ ।

संसदको आजको वैठकमा बोल्दै एमाले धादिङका सभासद्हरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीलाई ८ गोली लागे पनि घटनास्थलमा रगतको टाटा नभएको दाबी गर्दै घटना सुनियोजित भएको जिकिर गरे । एक प्रहरी अधिकृतको व्यक्तिगत प्रतिद्वन्द्वीताको कारण चरीको हत्या भएको उनीहरुको धारणा थियो ।सभासद पाण्डेले चरीलाई चक्रपथभित्रै हत्या गरेर भीमढुंगामा नक्कली मुठभेड रचिएको आरोप लगाए । ‘यो हत्यामा संलग्नहरुलाई न्यायिक कारवाहीको दायरमा ल्याउन एसएसपी पुष्कर कार्कीलाई निलम्बन गरि छनबिन थाल्नुपर्छ’ पाण्डेले भने ।

 

एमालेकै अर्का सभासद गुरु बुर्लाकोटीले एक प्रहरी अधिकृतले प्रेमिकाको निहुँमा चरीको हत्या गराएको आरोप लगाए । ‘चरीकी प्रेमिकालाई मन पराउने ती प्रहरी अधिकृतले ५० लाख खर्चेर भने पनि चरीको हत्या गराउछु भनेका थिए । उनैको टोलीले मारेको भन्ने छ, यथार्थ बाहिर ल्याइयोस’ बुर्लाकोटीले संसद बैठकमा भने ।

सभासदहरुले महानगरीय अपराध महाशाखाका एसपी पुष्कर कार्कीलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखेका छन् । उनीहरुले सरकारले घटनाबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरे । कोही अपराधी भए पनि पनि कानुन अनुसार कारवाही गर्नुपर्ने सांसदहरुको जिकिर थियो ।

सभासद गंगालाल तुलाधरले चरी हत्या प्रकरणमा प्रहरीले तथ्य बंग्याएर पुष्टि गर्न खोजेको भन्दै संसदलाई यथार्थ जानकारी गराउन माग गरे ।

आजको संसद वैठकमा महिला सभासद्हरुले हिजो नेपालगञ्जमा बसभित्रै भएको सामूहिक बलात्कारको घटनाको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् । उनीहरुले बलात्कार घटनाका दोषीलाई राजनीतिक संरक्षण नदिन र सर्वस्वसहित जन्मकैदको कारवाही गर्न माग गरे ।

सभामुख सुबास नेम्वाङले नेपालगञ्जमा हिजो भएको बलात्कारको घटना र चरी मारिएको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।व्यवस्थापिका संसदको बैठकमा एमाले सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु बुर्लाकोटीले चरीको हत्या नियोजित रुपमा प्रहरीले गरेको भन्दै गृहमन्त्रीको जवाफ मागेका थिए ।

एमाले सभासदहरुले चरी हत्याबारे यथार्थ नआए संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले गृहमन्त्रीलाई शुक्रवारको बैठकमा यसबारे यथार्थ जानकारी गराउन रुलिङ गरेका हुन् । नेम्वाङले नेपालगन्जमा एक १८ वषर्ीया युवतीको बलात्कारको घटनाको पनि यथार्थ जानकारी गराउन रुलिङ गरेका छन् ।
बुधबार साँझ काठमाडौंको भीमढुंगामा मुठभेड भएको र घटनामा चरी मारिएको प्रहरीले बताएको छ ।