सिद्धान्त र विचारका आधारमा एकीकरण हुन्छ : महासचिव ईश्वर पोखरेल


पोखरा – नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा९माओवादी केन्द्र०बीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय वाणिज्य संघको आज यहाँ आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले एकीकरण सुव्यवस्थित बनाउँदै लैजानका लागि विचार र संगठनको व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो । अब बन्ने सरकारले प्राथमिकताका आधारमा के के गर्ने भन्ने सम्बन्धमा पनि कार्यदलमार्फत योजना बनाइने तयारी भएको बताउदै उहाँले सरकार गठन र एकीकरणका प्रक्रिया सँगसँगै बढ्दै जाने जानकारी दिनुभयो ।

सो अवसरमा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले दक्ष जनशक्ति स्वदेशमा नै तयार गरी उनीहरूको उपयोग गरिनुपर्ने उल्लेख गर्नुभयो । एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले प्राकृतिक, सांस्कृतिक रुपमा समृद्ध प्रदेश नं ४ मा विकासका पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

वाणिज्य संघका अध्यक्ष धनराज आचार्यले कर तिर्ने व्यवसायीको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिनुभयो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायीले बाहिरबाट ल्याएको सामान बेच्ने मात्र नभै मुलुकभित्रै उत्पादन गरी बेच्न सक्ने गरी तयारी गर्नुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य एवम् राष्ट्रिय व्यवसायी महासंघका इञ्चार्ज मुकुन्द न्यौपाने, संघका कास्की अध्यक्ष सञ्जीवबहादुर कोइरालालगायतले आर्थिक विकासमा योगदान गर्ने व्यवसायी राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा वाणिज्य संघमा आबद्ध भई स्थानीय, प्रदेश एवम् संघमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । दुईदिने महाधिवेशनमा देशका ६८ जिल्लाका ४०० प्रतिनिधिको सहभागिता छ । रासस