सहकारी अध्यक्ष समाज (कोप्स) को १३ बुँदे घोषणापत्र


पोखरा । सहकारी अध्यक्ष समाज (कोप्स) नेपालको पोखरामा सोमबार भएको बृहत् सहकारी गोलमेच सम्मेलनले १३ बुँदे कोप्स घोषणापत्र २०७४ जारी गरेको छ ।

घोषणापत्रमा सहकारी आन्दोलनको विकास गर्ने निरन्तर कार्यक्रम संचालन गर्ने, सहकारी माध्यमबाट समाज रुपान्तरण र आर्थिक समृद्धिको नेतृत्व प्रदान गर्ने, सहकारी संघ, बचत संघ, विषयगत संघलाई आर्थिक रुपमा सम्पन्न र गतिशील व्यवस्थापनमा स्तरोन्नति गर्ने लगायत बुँदा समेटिएको छ ।

यस्तै, सहकारी संघ,बचत संघ र अन्य संघमा पुँजीको संरचना वृद्धि गर्ने, बैकिङ प्रणालीको रुपमा विकास गर्ने, सहकारीको नेतृत्वमा निजी र सार्वजनिक क्षेत्रलाई साथमा लिएर पर्यटकीय सहकारी नाउँको रुपमा विकास गर्ने र पर्यटन प्रवद्र्धन गर्ने, सहकारी सदस्यको आर्थिक स्वतन्त्रताको ग्यारेन्टी हुने खालका व्यवसाय प्रवद्र्धन गर्ने, विशिष्टीकरण संघ खोल्न प्रोत्साहन गर्ने, अर्थतन्त्रसम्बन्धी बहस र छलफलमा सक्रिय नेतृत्व लिने, अन्तरसहकारी कारोबार व्यापक बनाउने र गतिशील उत्पादनमा जोड दिने, देशव्यापी सहकारी व्यावसायिक एवं औद्योगिक अभियान संचालन गर्ने, सहकारीलाई औद्योगिक पुँजीको रुपमा विकास गर्ने, द्वन्द्व निवारणको अभिन्न अंगको रुपमा सहकारीलाई विकास गर्ने लगायत विषयवस्तु उल्लेख छन् ।

‘उद्देश्य प्राप्तिको लागि गम्भीर भएर अगाडि बढांै, उद्यमशीलताको बाटो निर्माण गरौ, एक युगमा एकपटक मौका आउँछ यसको रक्षा गरौं भन्ने मान्यताका साथ उक्त घोषणापत्र जारी गरिएको कोप्स नेपालका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
सम्मेलनमा जिल्लाका विभिन्न सहकारीका अध्यक्ष तथा पदाधिकारी, सहकारीकर्मी, सहकारीसँग सम्बन्धित संस्थाका प्रतिनिधि, अभियन्ता लगायतको सहभागिता थियो ।

कार्यक्रममा सहकारी संघका जिल्ला अध्यक्ष रविरमण अधिकारी, दुग्ध उत्पादक संघका केन्द्रीय संचालक युवराज पराजुली, सहकारी अभियन्ता तेजनारायण अधिकारी, विष्णुप्रसाद भण्डारी, गिरीधारी शर्मा, उद्योग वाणिज्य संघका सदस्य किसान सुनार, नेस्कून पोखरा शाखा ईन्चार्ज जगनाथ लामिछाने, राष्ट्रिय सहकारी बैंकका पोखरा शाखा प्रमुख केदारनाथ उप्रेती, कास्की बचत संघका सदस्य नीरज थापा, बचत संघका लेखा समिति संयोजक रूद्रप्रसाद पौडेल, कोप्सका सल्लाहकार विष्णुप्रसाद बराल, टोपराज ढुंगाना, कुसुमकेशव पराजुली, जिल्ला सहकारी संघका सदस्य सन्तु सुवेदी लगायतले आ आफ्ना धारणा राखेका थिए ।

अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रामचन्द्र शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन तुलसीप्रसाद पोखरेल र सात सिद्धान्त वाचन दुर्गादेबी आचार्यले गरेकी थिइन् ।

जिल्ला सहकारी संघको ४४ औं साधारणसभामा प्रारम्भिक सहकारीका अध्यक्षको संस्थागत प्रतिनिधित्व हुने गरी सक्रिय सहभागिता जनाउन र सहकारी संघलाई आर्थिक समृद्धिको कोसेढुंगा सावित गर्न सहकारी संघको विकास अपरिहार्य भएको महसुस गरी यसरी पहिलो पटक गोलमेच सम्मेलन गरिएको संस्थाले जनाएको छ । कोप्स जिल्लाका विभिन्न सहकारीका अध्यक्षहरु मिलेर हालैमात्र गठित संस्था हो ।