पोखरा उद्योग वाणिज्य संघद्धारा निर्वाचित सभासदहरुलाई सम्मान


पोखरा –  पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित सभासदहरुलाई सम्मान तथा स्वागत गरेको छ । पोखराको जेठो सामाजिक संस्था संघले आयोजना गरेको सम्मान र स्वागत कार्यक्रममा प्रतिनिधीसभामा निर्वाचित सभासद क्षेत्र नम्बर १ का खगराज अधिकारी र क्षेत्र नम्बर २ का रवीन्द्र अधिकारीसहित दीपक कोइराला, मनबहादुर गुरुङ, कृष्ण थापा, विन्दुकुमार थापा र राजिव पहारी उपस्थित हुनुहुन्थ्यो ।

कास्की क्षेत्र नंबर २ को खबाट निर्वाचित प्रदेशसभा सदस्य विन्दुकुमार थापा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । कार्यक्रममा नवनिर्वाचित सभासदहरुलाई स्वागत गर्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले आर्थिक सम्वृद्धिको लागि सभासदहरुले निजी क्षेत्रसँग सहकार्य गर्ने अपेक्षा राख्नुभयो । आफूहरु सधैँ विकासको पक्षपाति रहेको उल्लेख गर्दै उहाँले समग्र कास्की र यो प्रदेशको विकासमा हातेमालो गर्न आफूहरु सधैँ तयार रहेको बताउनुभयो ।


सो अवसरमा मन्तव्य राख्दै प्रतिनिधीसभाका सभासद खगराज अधिकारीले आफूहरुको पहिलो प्राथमिकता सुन्दर र सम्वृद्ध कास्की भएकोले निजी क्षेत्रसँग धेरै नजिक रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पोखराको व्यवसाय, उद्योगधन्दा फस्टाएमात्र सम्वृद्ध पोखराको सपना साकार हुने भएकोले निजी क्षेत्रको हितको लागि काम गर्ने बताउनुभयो । विभिन्न सूचकाङ्कहरुमा प्रदेश नम्बर ४ अगाडि भएपनि अन्य प्रदेशहरुले अगाडि बढ्न सक्ने संभावना व्यक्त गर्दै उहाँले समग्र प्रदेशको विकासको लागि क्रियाशिल रहनु पर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

सभासद अधिकारीले आफूहरुले गलामा सम्मानस्वरुप लगाइदिएको खादाहरुलाई पुनः प्रयोग गर्न सकिने भएकोले त्यसलाई बिक्री गरी रचनात्मक कार्यमा लगाउन सुझाव पनि दिनुभयो । उहाँको सुझावलाई तत्काल कार्यान्वयन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले कार्यक्रममा सभासदहरुलाई सम्मानस्वरुप प्रदान गरिएको खादाहरु १० हजार रुपैयाँमा खरिद गर्ने घोषणा गर्नुभयो । किनिएका खादा बिक्रीबाट आउने सो रकम सीतापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई सहयोग गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सभासद कृष्ण थापाले करको दायरामा रहेर व्यवसाय गर्नेहरुलाई अझ धनी बनाउने तथा आर्थिक रुपले सबै नागरिकलाई सम्पन्न बनाउनु आफूहरुको उदेश्य रहेको बताउनुभयो । अर्का सभासद तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले अबको निकास नै विकास भएकोले सम्वृद्धि र विकासको लागि आफूले सक्दो प्रयत्न गर्ने बताउनुभयो । नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुनुभएका सभासद थापाले प्रतिपक्षमा बस्दा पनि विकासका एजेण्डाहरुमा सत्तापक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुको धन्यवाद र महासचिव दामु अधिकारीको स्वागत रहेको कार्यक्रममा विभिन्न बस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधीहरु र संघका साधारण सदस्यहरुले सभासदहरुलाई कार्यकाल सफलताको कामनासहित बधाई ज्ञापन गर्नुभएको थियो ।