बाँदरमुढे घटना सबैभन्दा ठूलो भुलवशको गल्ती : प्रचण्ड


 चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटनालाई सशस्त्र द्वन्द्वमा भएको सबैभन्दा ठूलो भुलवशको गल्ती भएको बताएका छन्

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताए। दाहालले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

घटनापछि पहिलो पटक दाहाल बाँदरमुढे पुगेका हुन्। यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा दाहाल जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन।

चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका हुन्। आज दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदैछ। दाहाल सोमबार दिनभर पनि चुनावी कार्यक्रमअन्तर्गत माडीमा रहने कार्यक्रम रहेको छ।

चितवन राष्ट्रिय निकुञ्ज पार गरेर माडी जानुपर्ने हुन्छ। कडा सुरक्षाका साथ दाहाल माडी हुँदै बाँदरझुला पुगेका हुन्। समय मिलेमा आज दिउँसो ठोरीको सोनापुरसम्म जाने कार्यक्रम रहेको बताइएको छ ।

बाह्र वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए। सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो। माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नंको बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । विसं २०६२ जेठ २३ गते घटना भएको हो। रासस