पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खस्यो


काठमाण्डौ – अाज भएको पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार जिल्लाबाट आएको अहिलेसम्मको विवरण अनुसार ६५ प्रतिशत भन्दा बढी मत खसेको हो।  बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत खसेको छ।

रूकुमको आठबीसकोटस्थित राष्ट्रिय माध्यमिक विद्यालय केन्द्रमा प्रदेशतर्फको समानुपातिकको मतदान स्थगित भएको छ। त्यहाँ मतपेटिकामा एसिड खन्याएपछि प्रदेशको समानुपातिकको मतदान स्थगित भएको हो ।

त्यसैगरी रुकुमकै बाँफीकोटस्थित काँडा मतदान केन्द्रमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले मतपेटिकामा आगजनी गरेपछि प्रतिनिधिसभा प्रत्यतर्फको मतदान स्थगित भएको छ ।

अर्कातिर उपल्लो डोल्पाका दुई वटा मतदान केन्द्र अझै सम्पर्कमा आउन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पहिलो चरणमा निर्वाचन भएका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ वटै निर्वाचन क्षेत्रमा मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ। मतपेटिकाहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाा निगरानीमा राखिने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा नै सम्पन्न भएको छ। हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो।