वाम गठबन्धनलाई चुनावी चटारो, कास्की ३ को साझा प्रतिवद्धता सार्वजनिक


पोखरा – बाम गठबन्धन कास्की निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । कास्की ३ मा पर्यटन, कृ्षि, सडक र युवा उद्यमशिलतालाई प्राथमिकता दिँदै सामाजिक रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
ग्रामिण क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वच्छ पिउनेपानीलाई प्राथमिकतामा राखिएको छ । प्राकृतिक स्रोत र साधन संरक्षण गर्दै पर्यटकीय केन्द्र बनाउने एजेन्डा पनि प्रतिवद्धतापत्रमा उल्लेख छ । पोखराको फेवाताल, लेकसाइड, सराङ्कोट, घान्द्रुक, लान्द्रुक, धम्पुस, लुम्ले, पञ्चासे लगायतका अन्य पर्यटकीय क्षेत्रको विकास र समृद्धिमा विशेष पहल गरिने उल्लेख गरिएको छ ।
प्रत्येक गाउँ, वडा र टोल जोड्ने सडकहरुको विकास गर्नुका साथै कच्ची सडकहरु स्तरोन्नति गर्दै चक्रपथ निर्माणको नीति लिइएको छ । सम्भाव्यताको आधारमा सुरुङमार्ग, रञ्जुमार्ग, केबुलकार सञ्चालन प्राथमिकतामा परेको छ । खहरेखोलामा मोटरेबल पुल तथा झोलुंगे पुल निर्माण गर्दै पञ्चासे संरक्षण क्षेत्रको योजना बनाइने बाम गठबन्धनको प्रतिवद्धता छ । यसमा पोखरा जोमसोम कोरला हुँदै चीन जोड्ने, पोखरा भिमाद कावासोती, भैसालोटन हुँदै भारत जोड्ने प्रदेश नं ४ को राष्ट्रिय राजमार्ग निर्माणमा जोेड दिइएको छ ।
कास्की क्षेत्र नं ३ बाम गठबन्धनका साझा उम्मेदवार जगत विश्वकर्माले समग्र मुलुक विकासका लागि स्थायी सरकारको नेतृत्व र भूमिका वाम गठबन्धनले गर्नु अपरिहार्य रहेको बताए ।
पोखरा खेलकुद राजधानी

गठबन्धनका उम्मेद्वारले पोखरालाई खेलकुदको राजधानी बनाउने उद्घोष गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका खेलाडी संगठनको संयुक्त भेलामा उनीहरुले पोखरालाई खेलकुदको अन्र्तराष्ट्रिय सहर बनाउने उद्घोष गरेका हुन् ।

कास्की २ का उम्मेदवार रवीन्द्र अधिकारीले खेलकुदका सबैभन्दा धेरै गतिविधि हुने पोखरालाई खेलकुदको राजधानी बनाइछाड्ने बताए । उनले पोखरा रंगशालालाई अन्र्तराष्ट्रिय स्तरको बनाउन सुरु भएको र त्यो कुन पनि हालतमा बन्ने उद्घोष गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका कास्की १ प्रदेश१ का उम्मेद्वार दीपक कोइराला ‘रुपक’ले पोखरालाई खेलकुदको क्षेत्रबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यसबाट पर्यटन प्रवद्र्धन तथा रोजगारीसमेत सिर्जना गर्न सकिने बताए ।
कास्की २ प्रदेश २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले कांग्रेसले खेलाडीलाई लड्न र भीड्नको लागि हतियारको रुपमा मात्र प्रयोग गर्नेगरेको आरोप लगाए । उनले खेल र खेलाडीको विकास बामपन्थीले मात्र गर्ने दाबी गरे । कास्की २ प्रदेश १ का कृष्ण थापाले खेलकुदको विकासका लागि बामपन्थी सरकार बनेपछि योजनाबद्ध ढंगले अगाडि बढ्ने बताए ।

कार्यक्रममा कास्की १ का प्रतिनिधि सभाका उम्मेद्वार खगराज अधिकारी, कास्की ३ का उम्मेद्वार जगत विक, कास्की १ को प्रदेश क्षेत्र नम्बर २ का मनबहादुर गुरुङ, कास्की ३ प्रदेश क्षेत्र नम्बर १ का रामजी बराल ‘जीवन’ र कास्की ३ को प्रदेश क्षेत्र नम्बर २ का राजीव पहारीले पनि पोखरालाई खेलकुदको राजधानी आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सिल्भर मेडल जित्ने मोयथाई खेलाडी कुमार थापा र मोय थाईका प्रमुख राष्ट्रिय गुरु दीपक गोदारलाई सम्मान गरिएको थियो ।

अब २ चुनावचिह्न लिएर आए भोट नदिनू
कास्की १ प्रतिनिधि सभा सदस्यका बाम गठबन्धनका साझा उम्मेदवार खगराज अधिकारी र क्षेत्रनं १ , प्रदेश १ का साझा उम्मेदवार दीपक कोइराला (रुपक)ले अर्को पटक भोट माग्न आउँदा पार्टी एउटै हुने बताएका छन् । उनीहरुले पार्टी एक भएन र फेरि छुट्टाछुट्टै चुनावचिहन् लिएर भोट माग्न आए भोट नदिन आग्रह गरेका छन् ।
बिहीबार पोखरा लेखनाथ ३१ को पचभैयामा भएको कोणसभामा उनीहरुले चुनाब जित्नलाई मात्रै गठबन्धन नगरेको बताए । अधिकारीले जनतालाई विकास र समृद्धि दिनका लागि गठबन्धन भएको उल्लेख गरे । उनले भने, ‘अब कास्कीलाई लाल किल्ला हुनबाट छेक्न कुनै तागतले सक्दैन ।’
कोइरालाले युद्धकालमा गोली लागेर बाचेको जिन्दगी अब विकासको लागि सर्मपण गर्ने उद्घोष गरे । उनले भने, ‘जितेपछि पर्यटन, कृषि , खेलकुदमा कायापलट गर्ने क्षमता हामीमा छ ।’
विकास गर्नू, भोट दिन्छौं
कास्की २ प्रदेश २ का बाम गठबन्धनका साझा उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले बिहीबार अर्मलाको जोगीमणी, तुम्के, संगमचोक, बाटुलेचौरको संगमचोक लगायतका क्षेत्रमा घरदैलो गरे । उनलाई स्थानीयले चुनावपछि भने गाउँमा विकास गरिदिन आग्रह गरे ।
करणले आफ्नो मुख्य ध्येय नै विकास भएकाले त्यसमा शंका नगर्न आग्रह गरे । बामपन्थीको स्थिर सरकार बन्ने भएकाले सहरदेखि गाउँसम्मै विकासको लहर आउने उनले बताए । ‘करण’ले बिहीबार अर्मलाको जमिन भासिएर भ्वाङ परेको ठाउँका अवलोकनसमेत गरे । उनले भासिएको ठाउँको संरक्षण र त्यसको विकासका लागि आफू निर्वाचित भएपछि योजना ल्याउने प्रतिवद्धतासमेत जनाए ।

सामाजिक संस्थाहरुको साथ
सामाजिक संस्था सञ्जाल कास्की क्षेत्र नम्बर २ को बिहीबार भएको भेलाले वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन सक्रियतापूर्वक लाग्ने निर्णय गरेको छ । सामाजिक संस्थाबीच सयुक्त वाम गठबन्धनका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रमसहितको भेलाले सबै तहमा वामपन्थीको सरकार बनाउन सहयोग गर्ने निर्णय गरेको संयोजक शिवजी कोइरालाले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश सभाका उम्मेद्वार राजकाजी गुरुङ (करण)ले नेपाली कांग्रेस भन्दा ठूलो पार्टी बन्न तथा केही थान मन्त्री बन्न वाम गठबन्धन नभएको प्रष्ट पारे । ‘वाम एकता इतिहासमा बिरलै आउने अवसर भएकाले भरपूर उपयोग गर्नुपर्छ,’ उनले भने, ‘गठबन्धनले स्थायीत्व कायम गरी इतिहासको आवश्यकतालाई पूरा गर्ने छ ।’
भेलामा नेकपा एमालेका समानुपातिकतर्फका उम्मेद्वार मिनाकुमारी गुरुङ, गजकुमारी गुरुङ, रामप्रसाद सुवेदी, पदमराज पहारी, देवेन्द्र बास्तोला, विजयकुमार प्रधान लगायतले बोलेका थिए ।
यातायात व्यवसायीको भेला
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन प्रदेश नम्बर ४ को भेलाले आम यातायात व्यवसायीलाई वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरेको छ । भेलाले वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन योगेन्द्रबहादुर केसीको संयोजकत्वमा १ हजार १ सदस्यीय चुनाव प्रचारप्रसार कमिटी गठन गरेको छ । सहसंयोजक वलराम सापकोटाले भेलाले मातहतका कमिटीलाई चुनावी अभियानमा खटेर वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन लाग्न निर्देशन दिएको बताए । कमिटीमा प्रदेशमा रहेका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष सदस्य छन् ।