पोखरालाई स्मार्ट सिटी बनाउन सिसी क्यामेरा जडान


पोखरा – पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरालाई स्मार्ट सिटी बनाउनको लागि सिसी क्यामेरासहितको सुरक्षा व्यवस्था पहिलो पाइला भएको बताउनुभएको छ । पोखराका पर्यटन व्यवसायीहरुसँग सहरका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई अगाडि बढाउनको लागि सोमबार आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

‘सिसी क्यामेरा जडानको लागि पोखरा लेखनाथ महानगरपालिकामा अप्टिकल फाइबर बिच्छ्याइन्छ, त्यो फाइबर भोली सरकारी कार्यालयहरुबाट लिइने सुविधा घरमै बसेर लिने प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ’,उहाँले भन्नुभयो,‘भोलीको स्मार्ट सिटीको लागि अहिलेबाट नै सोच्नु जरुरी छ ।’ उहाँले सिसी क्यामेरा जडान अभियानलाई सघाउन पर्यटन व्यवसायीहरुसँग आग्रह पनि गर्नुभयो । सुरक्षा संवेदनशीलता पर्यटन उद्योगको पहिलो सर्त भएको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीहरुले सिसी क्यामेरा जडान अभियान स्वागतयोग्य भएको भन्दै सो अभियानलाई सघाउने बचनवद्धता प्रकट गर्नुभयो । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले यो अभियानको सबैभन्दा ठूलो साझेदार पोखरा लेखनाथ महानगर नै हुनपर्नेमा जोड दिनुभयो । अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेलले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप संचालन गरिने यो परियोजना आफैमा स्वागतयोग्य रहेको बताउँदै विकास अभियानलाई अगाडि बढाउने दायित्व राज्यको भएकोमा जोड दिनुभयो । अर्का पर्यटन व्यवसायी चिरञ्जीवी पोखरेलले सिसी क्यामेराको मर्मतको लागि विशेष समिति बनाउनु पर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले सुरक्षाको लागि सिसी टिभी अपरिहार्य भएकोले यो अभियानलाई सक्दो छिटो अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । रेवानका पूर्व अध्यक्ष गोपी भट्टराईले सिसी क्यामेरा जडानसँगै त्यसको संचालनमा उत्तरदायित्वपूर्ण भूमिका निभाउने संयन्त्र बनाउन सुझाव दिनुभयो । यसैगरी पर्यटन व्यवसायी योगेश भट्टराईले जडानसँगै दीर्घकालीन संचालनको लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।अर्का पर्यटन व्यवसायी कृष्णप्रसाद भण्डारीले सुरक्षित पोखरा बनाउने अभियानलाई राज्यले पनि सघाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पोखराका प्रमुख एसपी अशोक सिँहले प्रविधी मैत्री सुरक्षा व्यवस्थाको लागि सिसी क्यामेरा अपरिहार्य भएको बताउँदै यो अभियानलाई सघाउन सबैसँग आग्रह गर्नुभयो ।