४० वर्षपछि बाटुलेचौरमा लाखेनाच प्रदर्शन


सन्देश श्रेष्ठ
पोखरा, १६ साउन-
नेवारी संस्कृतिमा आधारित लाखेनाच पोखराको बाटुलेचौरमा ४० वर्षपछि प्रदर्शन भएको छ । नेवा खलः बाटुलेचौर पोखराको आयोजनामा ४० वर्षपछि शुक्रबार बाटुलेचौर मैदानमा लाखेनाच प्रदर्शन गरिएको हो ।

नेवा खलः बाटुलेचौरको ब्यबस्थापनमा यूवाहरुले लाखेनाच प्रदर्शन गर्दा बाटुलेचौरबासी दंग परे । ४० वर्षपछि पुनः लाखेनाच देख्न पाएकोमा बुढापाकाहरु खुशी देखिन्थे भने यूवा तथा वालवालिकाहरु रमाइलो मानेर झुम्मिएका थिए । करीब १ घण्टा देखाईएको लाखेनाच हेर्न बाटुलेचौर तथा आसपासका मानिसहरु जम्मा भएका थिए ।

संस्कृति प्रेमीहरुले बाटुलेचौरमा लामो अन्तरालमा भएपनि लाखेनाच पुनः शुरु भएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले अबदेखी लाखेनाच प्रदर्शनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । संस्कृतिलाई जिवन्त राख्ने उद्धेश्यले आफूहरुले लाखेनाच नागपञ्चमीको अवसर पारेर यस वर्षदेखी शुरुवात गरेकाले यसलाई निरन्तरता दिने बाटुलेचौर ब्यवसायी समितिका अध्यक्ष हरिनारायण श्रेष्ठ ‘पाजु’ले बताउनुभयो ।

यसैबीच, लाखेनाच कार्यक्रमको उद्घाटनमा मन्तव्य व्यक्त गर्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले लाखेनाच अब बाटुचौरको सम्पति भएको बताउँदै यसलाई जोगाउन सुझाव दिनुभयो । उहाँले संस्कृति पहिचानसँग जोडिने भएकाले नेवारी संस्कृति जोगाए मात्रै नेवारको पहिचान जिवन्त रहने बताउनुभयो ।

नेवा खलःकास्कीका उपाध्यक्ष एवम् संस्कृतिविद् तीर्थ श्रेष्ठले संस्कृतिले समाजलाई जोड्ने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले लामो समयको अन्तरालमा भएपनि बाटुलेचौरमा लाखेनाच पुनः प्रदर्शन गरेर नेवा खलः बाटुलेचौरले संस्कृति संरक्षणमा भूमिका खेलेको भन्दै धन्यवाद दिनुभयो ।

शुक्ला साहित्य समितिका अध्यक्ष ईन्दु भट्टराइले ४० वर्षपछि लाखेनाच ब्यूँतिनु सराहनीय भएको भन्दै यसको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेवा खलः बाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव जितेन्दरकुमार मानन्धर र सदस्य जीवनारायण श्रेष्ठ ‘जीवन’ले पनि बोल्नुभएको थियो ।