नेपाली काँग्रेसको निर्वाचन घोषणा पत्र सार्वजनिक


काठमाडौ–  नेपाली काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा सार्वजनिक गरिएको ८२ पृष्ठ लामो घोषणा पत्रमा मुलुकको राष्ट्रिय एकता र समृद्धिका लागि नेपाली काँग्रेसलाई विजयी गराउन आह्वान गरिएको छ ।

घोषणा पत्र सार्वजनिक गर्दै काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन नेपाली काँगे्रसलाई विजयी गराउन सबैमा आह्वान गरे । उनले कम्युनिष्ट अधिनायकवादले मुलुकमा लोकतन्त्र खतरामा परेको उल्लेख गर्दै त्यसबाट बचाउन पनि आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन सबैले साथ दिनुपर्ने तर्क गरे ।
काँग्रेसले ठूल्ठूला परिवर्तनको नेतृत्व गरेको उल्लेख गर्दै अव समृद्धिको नेतृत्व पनि काँग्रेस आफैले गर्ने देउवाको घोषणा थियो ।
नेपाली काँग्रेसले घोषणा पत्रमा समृद्धिको अभियानको नेतृत्व गर्ने दायित्व पनि आफ्नै पार्टीको भएको दावी गरेको छ ।
शान्ति र संविधान निर्माणको नेतृत्वको गरेको काँग्रेसले नै समृद्धिको पनि नेतृत्व गर्नुपर्ने घोषणा पत्र तयारी समितिका संयोजक एवम् काँग्रेस नेता महेश आचार्यले बताए ।
घोषणा पत्रमा राष्ट्रियताको नाममा एमालेले मुलुकको राष्ट्रिय एकतालाई विखण्डन गर्न खोजेको आरोप लगाइएको छ । काँग्रेसले जनतालाई केन्द्रविन्दुमा राखेर मात्रै राष्ट्रियताको संरक्षण हुने धारणा पनि राखेको छ । माओवादी केन्द्रलाई अवसरवादी राजनीतिक पार्टीको रुपमा चित्रण गरिएको छ ।
काँग्रेसले आगामी निर्वाचन पछि सरकार बनाएर मुलुकबाट गरिवी, अशिक्षा र बेरोजगारी अन्त्य गर्ने प्रतिवद्धता पनि जनाएको छ । नेता महेश आचार्यले मुलुकको राष्ट्रिय एकताको पहरेदारी नेपाली काँग्रेसले मात्रै गर्न सक्ने दावी समेत गरे । काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मूल नारा ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने तय गरेको छ । घोषणा पत्रमा हिमाल, पहाड, मधेशलाई जोड्ने, गरिवी अन्त्य गर्ने, सबैका लागि सामाजिक सुरक्षाको व्यवस्था गर्नेलगायतका प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।