एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्रको औचित्य छैन : भट्टराई


काठमाण्डौ – वाम गठबन्धनले झुक्याएपछि आफू गठबन्धनबाट बाहिरिएको नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले बताएका छन्।

कास्कीमा मङ्गलबार आयोजित  पत्रकार सम्मेलनमा उनले पहिले समाजवादी पार्टी बनाएर जाने भन्दै बोलाएको बताए । ‘नयाँ समाजवादी पार्टी बनाउने हो भनेर बोलाएका थिए,’ भट्टराईले भने ‘तर पछि गएर बुझ्दा त पुरानै कम्युनिष्ट पार्टीको धङधङी बोकेपछि हामी गठबन्धनबाट बाहिरियौँ।’

उनले एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्र औचित्य नरहेको बताए। स्टालिनकालीन कम्युनिष्टको नेपालमा कै औचित्य नरहेको उनको जिकिर थियो। उनले एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउँदै दुई पार्टीले नमानेपछि आफू गठबन्धनबाटै बाहिरिएको उनको दाबी थियो ।

उनले गोरखा २ वा नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको हल्ला मात्रै भएको बताए। उनले नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताए। काँग्रेस र कम्युनिष्ट दुवैलाई समदूरीमा राखेर अगाडि बढ्ने समेत बताए ।

संयोजक भट्टराईले लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रुपमा लिन नहुने बताए । ‘नयाँ शक्ति वाम पार्टी पनि हैन, पूर्ण लोकतान्त्रिक पार्टी पनि हैन ।’ उनले भने अबको अावश्यकता नयाँ फ्यूजन नै आवश्यक रहेको बताए।