गुल्मीको वीरवासमा माइक्रो दुर्घटना हुँदा ९ जनाको मृत्यु


गुल्मी – बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको वीरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना हुदा ९ जनाको मृत्यु हुनुको साथै ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बीच बाटोबाट गाडीमा यात्रु थपिएको प्रहरी जनाएको छ ।

६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन महिला र ६ पुरुष छन् ।

मृतक सबैको सनाखत भएको छ । दुर्घटनामा परेर गुल्मी रेसुङ्गा नगरपालिका १० सिमीचौरका अन्दाजी बर्ष ३१ का भिम बहादुर घर्ती मगर (चालक), गुल्मी मालिका गउँपालिका ६ का ३० वर्षीय लालबहादुर मुखिया, गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौरकी २७ वर्षीया यमुना पन्थी मरासिनी, ईस्मा-२ पालुकाकी ४५ वर्षीया रुबी नेपाल, इस्मा-६ का २६ वर्षीय दिलबहादुर कुमाल र गुल्मी रिमुवाकी सुमित्रा दर्लामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊकी ५० वर्षीया मानकुमारी थापा, अर्घाखँची छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवतीका ३५ वर्षीय रामप्रसाद पाण्डे र बुटवलका केशवबहादुर गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ ।

गाडीका चालकको पाल्पा अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।

यस्तै घाइते हुनेहरुमा एक जना महिला, ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार चालक सहित १७ जना सवार थिए । दुर्घटनामा परेको गाडी सडकबाट करीव ३ सय मिटर भन्दा बढी तल खसेको थियो ।