क्याटलोनियाको स‌ंसदद्धारा स्वतन्त्रताको पक्षमा मतदान, संकट थप चर्कियो


स्पेन – स्पेनको क्याटलोनिया क्षेत्रको संसदले स्वतन्त्रताको पक्षमा मतदान गरेको छ। उक्त गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका थिए। सो मतपरिणाम सुनेर क्षेत्रिय संसदभवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरे।

मड्रिडको कदम?

तर त्यो कदमको प्रतिक्रियामा स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले क्याटलोनियामा विधिको शासन पुनर्स्थापना गरिने बताएका छन्। क्याटलोनियाको संसदले मतदान गरेको उक्त प्रस्तावमा स्पेनबाट कानूनी अधिकारहरु स्वतन्त्र क्याटलोनियामा फर्काउने उल्लेख छ। सो मतदानले त्यहाँको संकट थप चर्किएको छ।राजधानी मड्रिडमा प्रधानमन्त्री मारिआनो राखोइले क्याटलान प्रशासनलाई भंग गर्न सिनेटको अनुमति मागेका छन्।उनले सिनेटरहरुसमक्ष क्याटलोनियामाथि सोझो शासन गर्ने प्रस्ताव पेश गरेका छन्।उनले क्याटलान क्षेत्रका नेता कार्लेस पुज्डमोन, उनका  उपराष्ट्रपति तथा सबै क्षेत्रिय मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रस्ताव गरेका छन्। उनका ती मागप्रति सिनेटमा समर्थन रहेको देखिएको छ।

विवाद

स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो। राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा “कानून, प्रजातन्त्र र स्थायित्व” फर्काउन आफूले कडा कदम चाल्नु परेको बताए।परिवारहरुलाई विभाजन गरेको र समाजलाई तोडेको आरोप उनले क्याटलान सरकारमाथि लगाए। साभार : विविसि