राष्ट्रिय एकता समृद्ध बनाउन हिमाल, पहाड तथा तराईको एकता जरुरी


काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता समृद्ध बनाउन हिमाल, पहाड तथा तराईको एकता जरुरी रहेको बताएका छन्।

उनले भने, ‘नेपाली जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेशको अधिकारका पक्षमा लड्ने पार्टी हो भन्ने स्थापित भएको छ।’

अध्यक्ष दाहालले आज आफ्नै निवास लाजिम्पाटमा राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध युवा नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै माओवादी नै देशको हित र मधेशीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएको धारणा व्यक्त गरे।

‘मुलुकको आर्थिक समृद्धि र विकासका लागि वामपन्थी शक्तिबीचको सहकार्य र एकता प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने — ‘तराई–मधेशमा स्थापित नेता तथा कार्यकर्ताको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ।’

राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई–मधेश स्वयमसेवक  संघका केन्द्रीय अध्यक्ष अजय पट्टेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पट्टेल, तराई–मधेश विद्यार्थी फन्टका नेता सन्देश पट्टेल लगायतले माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

सो अवसरमा संघका केन्द्रीय अध्यक्ष पट्टेलले राष्ट्रिय एकताको पक्षधर एवं मधेशी अधिकारका पक्षमा लड्ने एकमात्र पार्टी माओवादी भएकाले आफूहरू सो पार्टीमा प्रवेश गरेको बताए। रासस