समयमा आवश्यक कानून बनाउन सक्नु मन्त्रालयको सफलता हो : मन्त्री थापा


काठमाडौँ – कानून मन्त्रालयले निर्वाचनसम्बन्धी कानून निर्माण र मुलुकी ऐनसम्बन्धी कानून निर्माणलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यज्ञबहादुर थापाले निर्वाचनसम्बन्धी कानून निर्माण र परिमार्जनसहितको मुलुकी ऐन निर्माण महत्वपूर्ण काम भएको बताए ।

विसं १९१० देखिको मुलुकी ऐनलाई परिमार्जन गरी नयाँ ऐन बनाउनु उल्लेखनीय काम भएको भन्दै उनले भने, ‘१ सय ६४ वर्ष पुरानो मुलुकी ऐनमा भएका राम्रा ४०÷५० प्रतिशत राम्रा कुरालाई राखेर बाँकी नयाँ व्यवस्थाको दस्तावेजसहितको असाध्यै राम्रो कानून बनेको छ ।’

मन्त्री थापाले आफ्नो कार्यकालमा आवश्यक महत्वपूर्ण ऐन बनाएको र सबै तहको निर्वाचनपछि संविधान कार्यान्वयन पनि हुँदै जाने विश्वास व्यक्त गरे ।‘कानूनको अभावमा कुनै पनि निर्वाचन नरोकियोस् भन्ने चाहना थियो, समयमा मन्त्रालयले आवश्यक कानून बनाउन सक्नु नै मन्त्रालयको सफलता हो, केही छुटपुट कानून बनाउन बाँकी छ’– उनले भने ।

मन्त्रालयका सचिव कमलशाली घिमिरेले मुलुकी ऐनसम्बन्धी चार वटा देवानी र फौजदारी कानून बनाउनु महत्वपूर्ण भएको भन्दै ११० संघीय, २२ वटा प्रदेश र छ वटा स्थानीयसम्बन्धी कानून बनाउनुपर्नेमा धेरै कानून बनाएको केहीमात्र संसद्का हतारका कारण बन्न नसकेको बताए ।

द्वन्द्वकालीन दुई आयोगसम्बन्धी ऐन बनाउने विषयमा राजनीतिक सहमति नभएका कारण ढिलाइ भएको तर छिट्टै नै छलफल गरी निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।

मन्त्रालयले संविधान जारी भएपछि संविधान कार्यान्वयन गर्न आवश्यक कानून निर्माण गरिरहेको छ । रासस