मोदीले फोहोर देख्ने छैनन्, पशुपतिमा कम्तिमा ५ ढोका हुने


काठमाडौं, श्रावण १६ – धुलो, दुर्गन्ध र सडकका भित्तामा टाँसिएका पोस्टरले काठमाडौका बासिन्दा र त्यहाँ आउने पर्यटक दिक्क हुन्छन् । तर दुई दिनको भ्रमणका लागि काठमाडौंमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने काठमाडौं शहरको खराब पक्षलाई देख्न पाउने छैनन् । किनकी उनको दुई दिने (आइतबार र सोमबार) भ्रमणलाई लिएर काठमाडौं महानगरपालिकाले मोदीले काठमाडौंमा रहदा यात्रा गर्ने करिब २४ वडाका सडक वरपरको सरफाईलाई बिहीबारदेखि तीब्र गतिमा सरसफाईको सुरूआत गरिसकेको छ । साथमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि सडकका डिभाइडरहरूलाई बिहीबार हटाउन थालेको छ । पशुपति क्षेत्रमा पनि महानगरपालिकाले सरसफाईलाई तीब्र गति दिएको छ ।

सरसफाईका लागि काठमाडौं महानगरपालिका वातावरण शाखाले विहीबार विहानैदेखि विषेश टोलीहरू नै खटाइसकेको छ । ‘हामीलाई ३ दिन अघि उनको भ्रमणको बारेमा जानकारी आएको हो,’ वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने,’हिजोबाट निरिक्षण गरेर कहाँ के भएको छ, हेर्‍यौं ।’ उनका अनुसार कुन ठाउँमा के गर्ने भन्नका लागि वातावरण विभागको २५ जनाको टोलीले मोदी आउने रुट र त्यहाँ बस्दा भ्रमण गर्ने विभिन्न ठाउँका रूटको निरिक्षण गरेको थियो । ‘कुन ठाउँमा के कमजोरी छ, हामीले त्यसलाई सुधार गर्ने भनिसकेका छौं,’ उनले भने,’हामीले सडकका डिभाइडर हटाउन ट्रफिक कार्यालयलाई भनेका थियौं । बिहिबारबाटै उहाँहरूले काम थालिसक्नु भएको छ ।’

सरसफाईका क्रममा सडक वरपरका फोहोर, माटो, डिभाइडर, पोस्टर, ढल आदिलाई पूर्ण रूपमा सफा गरिने छ । ‘नेपालमा हुन लागेको दक्षिण एसियाली सम्मेलनलाई लिएर हामीले सडकलाई सफा गर्ने तयारी गरेका थियौं । तर मोदीको भ्रमण गर्दा हामीले कामलाई थप तीब्र बनाएका हौ,’ श्रेष्ठले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीआईजी केशव अधिकारीले मोदीको आधिकारीक भ्रमण भएको र उनी भीआईपी भएकाले त्यहि अनुसार तयारिहरू भइरहेको बताए । ‘हामीले डिभाइडरहरू त हटाउन थालिसकेका छौं । साथमा सुरक्षाको दृष्टिकोणले उनले भ्रमण गर्ने ठाउँहरूमा के गर्ने भएर गृहकार्य गरिरहेका छौं ।’

महानगरपालिकाले त्रिभुवन विमानस्थलबाट गौशाला हुदै मोदी बस्ने हायात होटल, त्यहाँबाट राष्ट्रपति कार्यालय शितलनिवास पुग्ने नारायणगोपाल चोक हुदैको बाटो, राष्ट्रपति कार्यालयबाट सिंहदरबार, त्यसपछि नयाँ वानेश्वर, सोल्टी मोडस्थित होटल सोल्टीमा पुग्ने बाटोका रूटमा विषेश सरसफाई हुने छन् । साथै मोदीको स्वागतलाई लिएर कम्तिमा पनि ५ ढोका बन्ने श्रेष्ठले जानकारी दिए । उनले भने,’विमानस्थलबाट बाहिर पशुपति जाने बाटो, सविधान सभा भवन बाहिर, पशुपतिनाथ क्षेत्रमा ढोकाहरू बन्ने छन् । यस्तै, उद्योग वाणिज्यमहा संघले पनि ढोका बनाउने भनेको छ । अन्य ढोका पनि बन्न सक्छ ।’