प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका खेल्नुपर्छ : सिंह


काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुने बताउनुभएको छ ।

गैरआवसीय नेपाली संघ (एनआरएन)को अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज आफ्नै निवास ठमेलस्थित चाक्सीबारीमा आयोजित चियापानमा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।

“नेपालको राष्ट्रिय राजनीति चुनावी माहोलमा होमिएको अवस्थामा एनआरएनको सम्मेलन हुन लागेको छ यो सम्मेलनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थ राख्छ,”– नेता सिंहले भन्नुभयो । उहाँले नेपालबाट विभिन्न मुलुकमा गएर बसेका नेपाली दिदीबहिनी तथा दाजुभाइको समस्या समाधानका लागि एनआरएनले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

नेता सिंहले भूकम्पको समय होस् वा बाढीपहिरोको समयमा होस् एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै देश विकासमा पनि योगदान पु¥याएको छ भन्नुभयो । उहाँले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक प्रक्रियाबाट एनआरएन चलेको छ भन्दै अधिवेशन सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका जिल्ला सभापति सबुज बानियाँ सोही दलका केन्द्रीय सदस्य, सांसद, भ्रातृ संस्थाका प्रतिनिधिका साथै एनआरएनको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आएका प्रतिनिधिको सहभागिता थियो । रासस