अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु


काठमाडौँ  – अज्ञात समूहको गोली प्रहारबाट सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

आज दिउँसो करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपु¥याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिए । “एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उहाँको श्वासप्रश्वास चलेको थिएन” – डा थापाले भने ।

डा थापाका अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले हतियार र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ ।

यता, घटनापछि निर्माण व्यवसायीहरुले बानेश्वरमा प्रदर्शन गर्नुका साथै यातायात अवरुद्ध पारेका थिए ।

पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।

मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ। कसले र किन गोली हानेको भन्ने विषयमा प्रहरी निष्कर्षमा पुग्न सकेको छैन। ठेक्कापट्टालाई लिएर हुने लेनदेनको विषयमा गोली प्रहार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।