नेपाल-भारतको खुला सीमालाई नियमन गर्न परिचयपत्र जारी गर्नुपर्ने निष्कर्ष


काठमाण्डौ –  नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार सकिएको ईपीजीको पाँचौँ बैठकमा खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्रको व्यवस्था गर्नु उपयुक्त हुने ठहर दुवै पक्षले गरेका हुन् ।

प्रबुद्ध व्यक्ति समूहमा नेपालतर्फ संयोजक रहेका डा. भेषबहादुर थापाले दुई देशबीचको खुला सीमा बन्द गर्ने नभई नियमन र व्यवस्थित गर्ने विषयमा सहमति जुटेको बताए ।

‘खुला सीमामा देखिएका विकृति हटाउन सीमा बन्द गर्ने होइन कि नियमनमा जानुपर्छ भन्नेमा हामी करिब-करिब निष्कर्षमा पुगेका छौँ । सीमालाई बढी सुरक्षित बनाउनु आवश्यक छ’, थापाले बैठकपछि पत्रकारसँग भने ।

उनका अनुसार भारतका तर्फबाट सीमानजिक सुरक्षा जाँच चौकी राख्ने काम हालैका वर्षमा जारी रहेकाले भारतले सीमा व्यवस्थापनका लागि काम थालिसकेको रूपमा आफूहरूले बुझेको बताए ।

‘भारतका तर्फबाट सीमा सुरक्षा र व्यवस्थापनका लागि ठाउँ-ठाउँमा नयाँ प्रहरी पोस्ट खडा भएका छन् । उनीहरूले आफ्नो आवश्यकताअनुसार सीमा व्यवस्थापनको काम सुरु गरिसकेका छन्’, उनले भने । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।