कास्कीमा एमाओवादी भट्टराइ पक्षको छुट्टै भेला, नसच्यिएसम्म नेतृत्वलाई नस्वीकार्ने’


पोखरा,  साउन

पाँच कम्यूष्टि पार्टी बीच कार्यगत एकता भइरहेको बेलामा एमाओवादी कास्कीमा देखिएको आन्तरिक कचिलो सुल्झिनुको साटो झन बल्झिदै गएको छ ।एमाओवादी कास्कीको गत साउन ७ गते बसेको बैठक बहिष्कार गरेका अर्का नेता बाबुराम भट्टराई पक्षले एक हप्तापछि छुट्टै भेला गरेका छन् । पोखराको होटल रविमा भएको भेलामा कास्कीको नेतृत्वप्रति असन्तुष्ट रहेका प्रचण्ड पक्षीय केही कार्यकर्ताहरु पनि सहभागि भएको दावी भट्टराइ पक्षको छ ।

भेलामा पार्टीलाई रुपान्तरण गरेर नयाँ शक्ति गठन गरेर अगाडि बढ्ने विषय मुख्य रुपमा उठेको जिल्ला कमिटी सदस्य टिकाराम पौडेलले रेडियो अन्नपूर्णलाई बताउनुभयो ।‘पार्टी भित्र नयाँ शक्ति गठन गरेर जान भेलामा सहभागिले सुझाव दिएका छन्’, भेलाको संचालन गरेका पौडेलले भन्नुभयो,‘संगठन भित्र नयाँ शक्ति गठन गर्ने अवस्था नभए, बाहिरै नयाँ शक्ति गठन गरेर जानुपर्दछ भन्ने मत धेरै छ । ’

सक्षम, योग्य र जिम्मेवार नेता तथा कार्यकर्तालाई अपमान गर्दै कास्की नेतृत्वले एकलौटी रुपमा जिम्मेवारी बाडेको भन्दै असन्तुष्ट बनेका भट्टराइ पक्षले अहिलेको नेतृत्वलाई नस्वीकार्ने पनि बताएका छन् ।‘सबैलाई समेट्ने नेतृत्व हुनु पर्नेमा गुट विशेषको नेतृत्व भएको छ,’ पौडेलले भन्नुभयो,‘ सामुहिक भन्दा पनि व्यक्तिवादी नेतृत्व रुपान्तरण नभएसम्म स्वीकार्न सकिदैन ।’

कास्की नेतृत्व पोलेरै अगाडि बढेमा त्यसका विरुद्ध मोर्चाबान्दी गरेर अगाडि बढ्ने आवाज भेलामा चर्काे रुपमा उठेको भनाई पौडेलको छ । मनोमानी ढंगले राष्ट्रिय परिषद् सदस्यमा सिफारिस गर्ने र एकलौटी ढंगले कार्यविभाजन गर्नुका साथै विचारको निषेध, पदलोलुप र एकमनावादी प्रबृत्ति बैठकमा देखिएकोले त्यसका विरुद्ध संघर्ष गरी पार्टीलाई सहि विधि र पद्धतीमा ल्याउने भन्दै भट्टराई पक्षले बैठक बहिष्कार गरेका थिए ।आज भएको भेलमा करिव १ सय ५० जनाको सहभागिता रहेको भट्टराइ पक्षको दावी छ ।

एमाओवादी कास्कीका अध्यक्ष दिपक कोइरालाले सम्मानजक रुपमै जिम्मेवारी बाँडफाड गरिएको दावी गर्नुभयो ।गुप्तबहादुर हमाल सन्देशप्रति लक्षित गर्दै कोइरालाले भन्नुभयो, ‘म, सँग चुनाव हारेकालाई जिल्ला भन्दा माथिल्लो तहको नेता बनाउन सकिदैन, उहाँहरु (भट्टराइ पक्ष) को जिल्लामा भएको उपस्थिति अनुसार जिम्मेवारी बाँडफाड गरिएको छ, निहुँ खोज्नको लागि मात्र एकलौटीको आरोप लगाइएको हो । ’ कोइरालाले कार्यविभाजनमा क्षेत्र हेर्नका लागि एक र तीनमा भट्टराइ पक्षका शिवजी लामिछाने र आमोद थापालाई प्रस्ताव गरेको बताउनुभयो । जिल्ला कमिटीमा रहेका भट्टराई पक्षका १३ जनाले बैठक बहिष्कार गरेका थिए ।
‘बैठकमा उपस्थित जनाएपछि निर्णय चित्त नबुझे ‘नोट अफ डिसेण्ट’ लेख्नु पथ्र्यो,’ कोइरालाले भन्नुभयो, ‘नोट अफ डिसेण्ट’ पनि नलेख्ने र आफ्नो कुरा पनि राख्न नसक्नेले लुकीछिपी गरेको भेलाको कुनै तुक छैन ।’सम्मानजनक जिम्मेवारी दिन जिल्ला कमिटीको चुनाव हारेकालाई मनोनित गरेर सदस्य बनाएको भनाई कोइरालाको छ । गत साउन सात गते बसेको बैकले जिम्मेवारी बाड्नुका साथै राष्ट्रिय परिषद् सदस्यमा सिफारिस गरेको थियो ।बैठकपछि एमाओवादी कास्कीमा रडाको मच्चिएको छ भने यो सजिलै मत्थर हुने सम्भवना नदेखिएको एक नेताले बताए ।