पोखराको वडा नम्वर १३ पहिलो अपाङगमैत्री वडा घोषणा


पोखरा  – पोखराको वडा नम्वर १३ पहिलो अपाङगमैत्री वडा घोषणा भएको छ । जननिवाचित जनप्रतिनिधि आएपछि अपाङमैत्री वडा बनेको हो ।

कार्यालयभित्र प्रवेश गर्ने बाटो, शौचार्य सवै अपाङमैत्री बनाइएको वडा अध्यक्ष दर्शन लामाले जानकारी दिनुभयो । अपाङमैत्री नहुदाँ अपाङता भएकाहरुले सेवा दिन निकै कठिन भएको थियो, अव कार्यालयका हरेक कोठामा ह्वीलचियर पुग्ने भएकाले सहज भएको छ अध्यक्ष लामाले भन्नुभयो । ‘कार्यालय प्रवेश गर्ने ३० मिटर सडक पनि खाल्टाखुल्टीले अप्ठयारो थियो, त्यसलाई पनि ढलान गरेर ब्यवस्थित गरेका छौ ।’

कार्यालयको हरेक कोठामा सजिलै ह्वीलचियरको प्रयोग गरेर पुग्न सक्ने गरी संरचना निर्माण गरिएको छ । निवाचनका बेला आफुले जनता सामु गरेका प्रतिबद्धा अनुरुप काम अगाडी बढेको बताउदै पोखराका ३३ वडा मध्य पहिलो अपाङमैत्री वडा बनेकोमा खुशी लागेको अध्यक्ष लामाले बताउनुभयो ।‘निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुरुप नै म लागीरहेको छु । सोही अनुरुप यो कार्य गरिएको हो । यसबाहेकका सबै प्रतिबद्धता पनि मैले पुरा गर्नैपर्छ, गर्छु पनि’, उहाँले भन्नुभयो । त्यस्तै वडा कार्यालयमा अपाङगमैत्री, महिला र पुरुष शौचालय समेत निर्माण गरिएको छ । अहिलेसम्म वडा कार्यालयमा अपाङमैत्री हैन, महिला पुरुष शौचालय समेत थिएन अध्यक्ष लामाले भन्नुभयो –‘अपाङमैत्री सहित महिला र पुरुषका लागी शौचालयको समेत ब्यवस्था गरेको छु ।’
वडा कार्यालयमा शौचालय नहुँदा त्यहाँ पुग्ने सेवाग्राहीले सास्ती खेप्नु परेको थियो, अव सहज भएको छ ।

एक पुरुष, एक महिला र एक अपाङ्गमैत्री गरि तीन वटा शौचालयको निर्माणका करिब ९ लाख रुपैयाँ खर्च लागेको अध्यक्ष लामाले जानकारी दिनुभयो । वडाभित्र रहेको खानेपानी समस्यालाई समेत समाधान गरिएको छ । वडामा रहेका ३८ घर परिवारलाई खानेपानीको समस्या रहेको र सवै घरमा धारा जडान गरि खानेपानी ब्यवस्था गरिएको छ । त्यस्तै वडाभित्र रहेका नौ वटा कृर्षि समुहलाई निशुल्क बिउविजन वितरण गरिएको र ८० जना विद्यार्थीलाई छात्राबृत्तिको ब्यस्था गरिएको वडा अध्यक्ष लामाले बताउनुभयो । ‘वडाभित्र बसोबास गर्ने न्यूनआर्य भएका गरिव तथा विपन्न परिवारका ८० जना विद्यार्थीलाई छात्राबृत्तिको ब्यवस्था गरेका छौ ।’

त्यस्तै वडा कार्यालयको पहलमा अहिले सम्म विजुली नपुगेका १० घरलाई मिटरबक्स वितरण गरि विजुलीको लाइन विस्तार समेत गरिएको छ भने लाइन विस्तार भएरपनि विभिन्न कारणले मिटर बक्स नपाएका घर परिवारलाई बक्स वितरण गरिएको छ । अध्यक्ष लामाका अनुसार वडाले घटना दर्तालाई सहज बनाउन अनलाईन सेवा सुरु गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधालाई समेत प्रविधिमैत्री बनाउदै लैजाने योजना अनुसार ‘हामीले आफ्नै वेभसाइट निर्माण गरेका छौ अध्यक्ष लामाले भन्नुभयो –‘ सेवाग्राहीले विभिन्न घटना दर्ता गराउने, वडाको कार्ययोजना, कार्यगती लगायत सम्पुर्ण विवरण वेभसाइटबाटै प्राप्त गर्न सक्नुहुनेछ ।’

अव जन्म, मृत्यु, बसाईसाई, नाताप्रमाणीत लगाएका काम अनलाईन मार्फत हुने ब्यवस्था गरेका छौ अध्यक्ष लामाले भन्नुभयो यसले कार्यालयमा हुने भिड ब्यवस्थापन र सेवाग्राहीलाई सहज हुने बताउनुभयो । प्रतिबद्धता अनुरुप सडक कालोपत्रेको काम सुचारु भएको छ । लामाका अनुसार काहुँखोला देखी पाटनबेसी सम्मको ३०० मीटर बाटो कालोपत्रे भैसकेको छ भने बाँकी सडकको काम भइरहेको छ ।