व्यक्तिगत स्वार्थ भएकाहरु सामाजिक संस्थामा आवद्ध हुन हुदैन : शेष घले


नवलपरासी – एनआरएनएका अध्यक्ष शेष घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्तिहरु सामाजिक संस्थामा आवद्ध हुन नहुने बताएका छन् । विजय विकास स्रोतकेन्द्र गैँडाकोट नवलपरासीको ३२ औं साधारणसभाको उद्घाटन गर्दै घलेले यस्तो बताएका हुन् । भुकम्प पिडितलाई सहयोग गर्न आफुले सुरु गरेको अभियानमा अवरोध पुर्‍याउने भ्रष्टचारी प्रबृत्तिको अनुभब उनले सुनाएका थिए । भ्रष्टाचारी प्रबृत्तिका कारण नेपालको विकास हुन नसकेको उनको ठम्याइ छ।

विजय परिवारका कामवाट आफु प्रभावित बनेको वताउँदै घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्तिहरु सामाजिक संस्थामा आवद्ध हुन नहुने विचार राखे । आफ्नो सफलताको पुर्ण जस श्रीमती जमुना घलेलाई दिएका घलेले आफ्नो कार्यकालमा एनआरएनएलाई स्वच्छ र पवित्र संगठन बनाएको दाबी  समेत गरे । आफुले एनआरएनएमा लागेर व्यवसायलाई समेत विर्सिएको बताउँदै घलेले देशविकासकालागि युवा शक्तिलाई देशमा नै खपत गर्नुपर्ने वताए ।

निजी हेलिकप्टर चार्टर गरेर आइपुगेका घलेले एनआरनएनहरु स्वदेशमा लगानी वढाउने भावानाकासाथ अगाडि बढेको वताए । शेष घलेकी श्रीमती जमुना घलेले आफ्नो देश र गाँउको विकासकालागि निकै भावनात्मक सम्बन्ध आफुरुसँग भएपनि देशको प्रणालीका कारण सक्दो सहयोग गर्न नसकेको गुनासो गरे । साथमा एनआरएनका प्रतिनिधिहरु सहभागी रहेका थिए । एनआरएनएका युरोप संयोजक  दिल गुरुङले देशमा तानाशाही प्रवृत्तिका कारण विकास हुन नसकेको वताए । विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विजय परिवारको संक्षिप्त जानकारी विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा विजय विकास स्रोतकेन्द्रका अध्यक्ष बसन्तराज लम्सालले गराए ।