पूर्वडिआइजी नवराज सिलवाल एमालेमा प्रवेश


काठमाण्डौ – नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गरेका छन् ।  शुक्रबार बानेश्वरस्थित क्वालिटी ब्याङ्केटमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको भिजनमा आफूले कार्यकर्ताका रूपमा सहयोग गर्ने  बताए।  आफू अब एमालेको इमान्दार सिपाही भएको उनकाे भनाइ थियो ।

‘देशलाई समृद्धितर्फ लैजान एमालेको जुन योगदान छ जुन दृष्टिकोण छ, भिजन छ त्यसमा म एउटा कार्यकर्ताको रूपमा योगदान गर्नेछु,’ उनले भने, ‘हिजोसम्म म राज्यको इमान्दार सिपाहीको रूपमा मुलुकको सेवा गरिरहेको थिएँ, आज म एमालेको इमान्दार सिपाहीको रूपमा छु। म न्याय नपाएकाहरूलाई आवाज दिन तपाईँहरूसम्म आउनेछु।’

आफूले उत्साहपूर्वक एमालेको राजनीति गर्ने र मुलुकका लागि काम गर्ने उनले बताए।

आफ्नो मत्नव्यको सुरुवातमा पूर्वडिआइजी सिलवालले रुसी कम्युनिष्ट नेता लेनिनको भनाइ उदृत गरेका थिए- राजनीतिलाई तपाईँले हस्तक्षेप गर्न सक्नुभएन भने राजनीतिले तपाईँलाई हस्तक्षेप गरिदिन्छ।

आफ्नो जिन्दगीमाथि पनि ठूलो राजनीति भएकाले त्यसको उत्तर दिन राजनीति थालेको उनको जिकिर थियो।  आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन एमालेको राजनीति रोजेको उनको दाबी छ।

एमाले र माओवादीबीच हुने भनिएको एकतालाई ऐतिहासिक भन्दै उनले यसको सुरुवात गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीलाई युगपुरुषको उपमा दिए।

एमाले अध्यक्ष ओलीले पनि सिलवाल लगायत एमाले प्रवेश गर्ने सबैलाई सही बाटोमा आएको भन्दै बधाइ र धन्यवाद दिए।

‘हिँड्न त हिँडिन्छ तर, गलत बाटो हिँड्दा गलत ठाउँमै पुगिन्छ। तपार्इंहरु सही बाटोमा आउनुभयो। तपाईंहरुका हरेक थोपा पसिना अब पानी हालेको र मलजल गरेको खेर जाँदैन,’ उनले भने।

देश बनाउन भनेर एमालेमा सबै आएको भन्दै मिलेर मुलुक बनाउनु पर्ने पनि अध्यक्ष ओलीले बताए।