कास्कीमा विश्वआदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने पानबहादुर घर्तीको संयोजकत्वमा १०१ मुल समारोह समिति कास्की गठन


पोखरा, १४ साउन

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीले २० औं विश्व आदिवासी दिवस (अगष्ट ९)लाई यही साउन १७ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ ।

कार्यक्रमलाई भव्यताका साथ मनाउने जातिय संस्था, संगठनहरुको बैठकले नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषदका कास्कीका अध्यक्ष पानबहादुर घर्तीको संयोजक र सचिव पुर्ण ह्योल्मो सचिव रहेको १ सय १ सदस्यीय २० औं विश्व आदिवासी दिवस मूल समारोह समिति कास्की गठन गरेको छ । यसरी नै सप्ताह व्यापी कार्यक्रमलाई व्यवस्थित गर्नका लागि विभिन्न नौ उपसमिति गठन गरिएको फोनिज कास्कीका उपाध्यक्ष रुद्र श्रीसमगरले जानकारीदिनुभयो । आदिवासी जनजाति महासंघ कास्कीमा आवद्ध र सम्बद्ध संघ संस्थाहरुको अगुवाहरुको बुधवार सम्पन्न बैठकले बृहत रक्तदान, सरसफाई, अन्र्तक्रिया, तारा खेल प्रतियोगिता, मातृभाषा कविता गोष्ठी, मोटरसाइकल र्याली र झाँकी जुलुस सहित विशेष समारोह गरी सप्ताहव्यापी आदिवासी दिवस मनाउने कार्यक्रम तय गरेको छ ।

साउन २४ गते विश्व आदिवासी दिवसको दिन २० औं विश्व आदिवासी दिवस मूल समारोह समिति कास्कीको आयोजनामा मौलिक बाजागाजा, झाँकीसहित सभागृहचोकबाट प्रभातफेरी शुरुभई न्यूरोड–चिप्लेढुंगा–भीमसेनचोक–नयाँबजार–लखनचोक हुदै पोखरा सभागृहमा मुल समारोहमा परिणत हुने आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले जानकारी दिनुभयो ।

उक्त समारोहको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव आङकाजी शेर्पा रहनुहुने महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मोले जानकारी दिनुभयो ।