बेलायतबाट संगिता मरहट्ठाको युरोप महिला उपसंयोजकमा उमेम्दवारी


लण्डन । बेलायतबाट संगिता मरहट्ठाले गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रिय महिला उपसंयोजक पदमा उमेम्दवारी घोषणा गरेकी छन्। एनआरएनको आठौं महाधिवेसनमा मरहट्ठाले क्षेत्रिय महिला उपसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । गैर आबासीय नेपाली संघको बिधान -२००३ (२०१५ को संशोधन सहित) यस पटक देखि अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकको ब्यबस्था रहेको छ।

हाल एनआरएन आईसिसीकी सदस्य रहेकी मरहट्ठाले एनआरएन बेलायतमा सचिव, महिला संयोजक लगायतका महत्वपुर्ण पदमा रहेर काम गरिसकेकी छिन् । उनि संघको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत मिडिया कार्यदलको सहअध्यक्ष पनि हुन्। पछिल्लो १७ वर्षदेखि बेलायतमा बस्दै आएकी मरहट्ठा एनआरएनको संस्थापन कालदेखि नै यसमा आबद्ध रहेर सक्रिय रहंदै आएकी छिन् ।

लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित उनी पत्रकारिताको क्षेत्रमा समेत क्रियाशिल छिन् । बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी मरहट्ठाले नेपालमा पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक गरेकी थिइन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयबाट रेडियो डिप्लोमा समेत पूरा गरेकी उनले बिबिसी नेपाली सेवा, रेडियो सगरमाथा लगायतका प्रतिष्ठित मिडियामा काम गरिसकेकी छिन् ।

आफ्नो उम्मेदवारीबारे मरहट्ठाले भनिन्,”‘एनआरएनको माध्यमबाट महिलाहरुसंग रहेको सीप र क्षमतालाई अझै बढि उजागर गर्ने र उनीहरुलाई उद्यमशिल बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बनाउनु नै मेरो मुख्य लक्ष्य छ।”

आउँदो अक्टोबर १४ देखि १६ सम्म संघको आठौ अन्तराष्ट्रिय महाधिबेशन तथा बिश्व सम्मेलन काठमाडौंमा हुँदै छ।  

तस्बिर:- जर्मनीमा सम्पन्न दशौ युरोपेली बैठकको क्रममा बेल्जियम निबासी फोटोग्राफर राजेन्द्र रसाईलीले फोटो कैद गरेका हुन्।