दशैँको रौनकता बढ्दै, कलाकर्मीकोे दशैँ मनाउने आ-आफ्नै तयारी


दशैको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा जारी नवदुर्गा महोत्सवमा पुगेका श्री मन्टेश्वरीका बालबालिका

राजाराम पौडेल,पोखरा – नेपालीहरुको महान्पर्व विजयादशमी हाम्रो घरआँगनमा आइपुगेको छ । दशैको मुख्य दिन नजिकिदै गर्दा चहलपहल ह्वात्तै बढेको छ । दशैको लागि किनमेलगर्ने क्रम देखि दशैमा के गर्ने भनेर योजना बुन्दै रमाउने क्रम जारी नै छ । कोहि घुमघाम गर्दै दशै मनाइ रहेका छन् । कोही साथीभाइ इष्टमित्र भेटेर । त को विभिन्न परिकार सँगै किनमेल गरेर । पोखराका मुख्य–मुख्य बजारमा ग्राहकको भिड बढ्दै गएको छ । विभिन्न अफर, स्किम, छुट, पुरस्कार मार्फत ग्राहकलाई आर्कषित गर्न व्यवसायी लागिपरेका छन् ।

गुरुआमाबाट टिका जमरा ग्रहण गर्दै एक विद्दार्थी

यसपालिको दशैँलाई नेपाली संगीतकर्मी र कलाकारहरुले आ–आफ्नै तौड तरीकाले मनाउन खोजीरहेका छन् । आफ्नो जन्मठाउँ भन्दा बाहिर रहेर कलाकारिता क्षेत्रमा संघर्ष गरिरहेका कतीपय कलाकर्मी जन्मठाउँ फर्कन थालेका छन् । केहि कलाकार कार्यक्रमको शिलशिलामा विदेश जाँदैछन् । कोही स्वदेशका कार्यक्रममानै व्यस्त छन् । पछिल्लो क्रममा दशँै पर्वमा विभिन्न विकृती र विसंगती समेत भित्रिएको सबैलाई आभाष भैरहेको अवस्थामा यसप्रति कलाकर्मी पनि चिन्तित छन् । दशैँमा मान्यजनबाट टिका थाप्ने आर्शीवाद ग्रहण गर्ने पिङ खेल्ने, चङ्गा उडाउने भन्ने गरएिपनि पछिल्लो पुस्ताका व्यक्ति जाँड रक्सि खाने, जुवा तास खेल्ने अरुको देखासीकी गर्ने गरेकोले यो पर्वको महत्व घट्दै गएको आभाष हुदै गएको छ । त्यसोत दशैँको महत्व बढाउने खालका कार्यक्रम गरी संस्कृतीको रक्षा गर्नु पर्नेमा कलाकर्मी एकमत छन् । पोखरा अनि यस आसपासमा भएका विभिन्न कार्यक्रमले दशैको रोनकतालाई ह्वात्तै बढाएको छ । मन्टेश्वरी तथा विभिन्न विद्धालयले दशैँ पर्वको बारेमा विद्धार्थीलाई जानकारी दिन विभिन्न कार्यक्रम गरिरहेका छन् । दशै‌ंको अवसरमा पोखराको विन्ध्यवासीनि मन्दिरमा नवदुर्गा महोत्सवको आयोजना गरिएको छ ।

पुरुषोत्तम न्यौपाने (राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष)
वर्षभरीनै विभिन्न कार्यक्रममा व्यस्त दोहोरी गायक पुरुषोत्तम न्यौपाने यसपालीको दशँै भने जन्मठाउँ स्याङजाको बलाम बेल्टारी गएर मनाउने सुरुमा छन् । छोरा रविन र छोरी रन्जिता अष्ट्रेलियामा भएकोले त्यती रमाइलो उनलाई यसपालीको दशैँ लागिरको छैन । गाउँमा पुगेर परिवार, दाजुभाई, इष्टमित्रसँग दशै मनाउने योजना उनको छ । दशैको अवसरमा पोखरामा आयोजित सिटि रेवान महोत्सव, फुलपाती मेला, बास्तोला कम्लेक्स, उज्यालो मार्केटका कार्यक्रममा व्यस्त उनले स्याङ्जा बेलचौर, विरेन्द्र मावी, सत्यदेवी मावी, विरेन्द्र मावी, र म्याग्दी देवस्थानका कार्यक्रममा सहभागीता जनाउँनेछन् । दशैँ भनेको टिका र आर्शीवादको महत्व भएको पर्व भएकोले अनावश्यक खर्च गर्न नहुने तर्र्क उनी गर्छन् ।


राम्जी खाँड ( लोक दोहारी गायक)
लामो समयदेखि परिवारसँग बसेर दशै मनाउने अवसर अहिलेका चर्चित गायक राम्जी खाँडलाई जुरेको छैन । यसपाली कोरीया लगायतका देशमा हुने कार्यक्रममा उनी व्यस्त छन् बाल्यकालको दशैँ रमाइलो हुने गरे पनि अहिले त्यस्तो लाग्दैन उनलाई । बाल्यकालमा मामाघर जान हतार हुने गरेको उनले भुलेका छैनन् । ‘३,४ महिना अघिबाटै औला भाचिन्थ्यो, टिका लगाएर दिएको पैसा आधा रातमा उठेर गनिथ्यो’ विगत सम्झदै उनले भने । जाँड रक्सी नखाई, तास नखेली संस्कृतीको रक्षा गरेर दशैँ मनाउनुपर्ने आग्रह उनी गर्छन् ।

रामभक्त जोजीजु (गायक)
गायक रामभक्त जोजीजु यसपालीको दशैँ घरमा परिवारसँगै बसेर मनाउने तयारीमा छन् । मान्यजनको हातबाट टिका आर्शिवाद ग्रहण गर्ने र आफुभन्दा सानालाई टिका आर्शिवाद दिने योजना उनको छ । उनी दशैको अवसरमा आयोजित विभिन्न कार्यक्रममा पनि सहभागी भै रहेका छन् । दशै पर्वको महत्वलाई घट्न नदिई संस्कृतीको रक्षा गर्दै दशै मनाउन उनको सबैमा आग्रह छ ।

 

तारापती सुवेदी (राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश नं.४ संयोजक)
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका प्रदेश नं. ४ का संयोजक लोक दोहोरी गायक तारापती सुवेदी चाडबाट आफ्नो मौलीक पहिचान र परम्परा अनुसार मनाउनुपर्ने बताउँछन् । परिवारको साथमा दशैँ मनाउने उनको योजना छ । केहि साँगीतिक कार्यक्रममा सहभागी हुनुको अलावा पिङ खेलेर रमाइलो गर्ने योजना उनले बुनेका छन् । विगतको दशैँ मनाउने तरिका र अहिले दशैँ मनाउने तरिकामा फरकता भएको उनको चिन्ता छ । ‘विगतमा आफुसँग जे छ त्यसमा सिमित भएर मनाउनुपथ्र्यो अहिले धेरै सुविधा छ’ उनले भने ।

शंकरविरही गुरुङ (अध्यक्ष लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी)
लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकरविरही गुरुङले ठुलो बुबाको निधन भएको एक वर्ष पुरा नभएकोल यसपालीको दशैमा टिका लगाउने छैनन् । गाउँमा पुगेर साथीभाईसँग भेटघाट गरेर दशै मनाउने तयारुी उनको छ । उनी दशैको अवसरमा आयोजित विभिन्न मेला महोत्सवमा समेत व्यस्त छन् । दशैको फुर्सदलाई सदुपयोग गर्दै प्रतिष्ठान गण्डकीको अपुरो योजनाको बारेमा टिपोट गर्ने योजना उनले बनाएका छन् । दशैमा पिङ खेलेको, दोहोरी गीत गायको, खुशी भएर दर्शकले निधारमा टोपी वरीपरी छपक्कै पैसा लगाएको झल्को उनले भुलेका छैनन् ।

माओत्से गुरुङ ( गुरुङ फिल्म एशोसिएसन नेपाल संस्थापक अध्यक्ष)
गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङले यसपटकको दशैँ जापानमा मनाउदैछन् । फिल्म मनको बाबरीको सो को लागि जापान पुगेका उनले तहाँ रहेका नेपालीसँग दशैँ मनाउदैछन् । नयाँ प्रोजेक्टको बारेमा छलफल समेत उनले गर्दैछन् । ‘बाल्यकालमा पिङ हाल्ने नाच्थ्यौ डुल्थिियो तर अहिले त्यस्तो छैन’ उनले भने । तडक भडक नगरी दशैँ मनाउन उनको आग्रह छ । नयाँ–नयाँ ठाउँ डुल्न पाइने हुदाँ दशैं उनको मनपर्ने चाड हो ।

प्रिति आले (लोक दोहोरी गायिका)
लोक दोहोरी गायिका प्रिति आलेको यसपालीको दशै सिगांपुरमा मनाउदैछन् । टिका थाप्न नेपाल आउने आशा भने बाँकी नै छ उनको । गाउँघरमा बसेर दशै मनाउनुको मज्जा बेग्ले हुने उनी बताउँछिन् । बाल्यकालमा दक्षिणाको आशमा साइनो नपर्नेहरुको घरमा समेत टिका थाप्न गएको कुरा उनले भुलेकी छैनन् । मुस्कान सहित दशै मनाउनुपर्ने भन्ने उनी नेपाली चाडपर्व मनाउन छोडी विदेशी संस्कृतीको सिको गर्ने चलन भने उनलाई मनपर्दैन ।

जसु गुरुङ (निर्देशक)
गुरुङ फिल्म निर्देशक जसु गुरुङ यसपालीको दशै गाउँमा गएर मनाउने योजना छ । आफन्त साथीभाइलाई भेट्ने समय मिले घुम्न जाने योजना उनको छ । उनलार्ई पिङ खेल्न पनि मनपर्छ । बाल्यकालको दशैँ रमाइलो हुने गरेको उनको सम्झना छ । ‘बाल्यकालको दशँै सम्झिदा सायद सबैलाई रमाइलो लाग्छ । त्यसवेलाको खुशी मामाघर जान पाइने, नयाँ लुगा लगाउन पाइने, गाउँमा सबैको घरमा टिका थाप्दै दक्षिणा लिन पाइने’ उनले भनिन् । बाल्यकाल फर्केर आउनेभए त कस्तो रमाइलो हुने थियो । तर सम्भव छैन । स्टार स्टुडियोको सञ्चालक समेत रहेकी उनले पुराना साथिहरु भेट्ने कार्यक्रम समेत यसपालिको दशैँमा बनाएकी छन् ।

घनश्याम रिजाल (लोक दोहोरी गायक)
लोक दोहोरी गायक घनश्याम रिजालले सदा झै यसपाली पनि जन्मघर स्याङ्जा एलादीमा दशँै मनाउने योजना बनाएका छन् । सानो हुदाँ आफै साथीहरु बटुलेर पिङ हालेर साथिहरुसँग आधारात सम्म पिङमै बित्थ्या उत्साहित हुँदै उनले भने ‘हिजोका ति रमाइला पलहरु अहिले व्यवहारिकतामा सिमित भएका छन्’ । मनमा खुशी र चाहेजस्तो भएपनि बाल्यकालको जस्तो रमाइलो भने नहुने उनले बताए । बाल्यकालमा कुनैै पनि घर नविराई टिका लगाउदै हिडेको कुरा रिजालले भुलेका छैनन् ।

popdiary@gmail.com