प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र डिजाइन अन्तिम चरणमा


काठमाण्डौ –  निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्रको डिजाइन अन्तिम चरणमा पुर्‍याएको छ । समयको चाप रहेकाले आयोग समानुपातिक प्रणालीतर्फको मतपत्र तत्कालै छाप्ने तयारीमा छ ।

कस्तो मतपत्र बनाउने भन्ने विषयमा चरणबद्ध छलफल गरेपछि दुइटा मतपत्रमार्फत दुवै निर्वाचन गराउने निष्कर्षमा आयोग पुगेको हो ।

दुवै निर्वाचन एकै दिन सँगै गर्ने घोषणा भई चुनावी कार्यतालिका आइसकेको छ । संविधानअनुसार दुवै सभामा समानुपातिक र प्रत्यक्षबाट सदस्य चुनिने मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ ।

एक मतदाताले दुइटा मतपत्र हातमा पाउनेछन् जसमा ४ स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ र दुइटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ ।

आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतपत्रको डिजाइनलाई अन्तिम रूप दिन लागेको छ । तर, पहिलो प्राथमिकतामा भने समानुपातिक प्रणालीतर्फको मतपत्र छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दलको टुंगो लागिसकेकाले त्यसको मतपत्र डिजाइनमा समस्या नरहेको बताए । ‘२/३ दिनभित्र मतपत्र कस्तो हुनेबारे टुंगो लागिसक्छ, छलफलको अन्तिम चरणमा छौं,’ उनले भने, ‘आयोगले निर्णय गरेपछि दसैंभित्रै मतपत्र छाप्न पठाइसकिनेछ ।’ मतपत्र भने सरकार मातहतको जनक शिक्षा सामग्री केन्द्रमा छापिनेछ ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।