आइटिएफ सिनियर सर्किट टु टेनिस प्रतियोगिताको समापन आज हुँदै


पोखरा –  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटिएफ सिनियर सर्किट टु टेनिस प्रतियोगिताको समापन बिहिबार हुँदैछ । प्रतियोगिताको मुख्य ३५ वर्ष माथिको एकल उपाधीका लागि दुई भारतिय खेलाडी दिलिप मोहंती र कमलेश गुप्ता भिड्ने भएका छन् ।

बुधबारको सेमिफाइनलमा मोहंतीले भारतका अभिनास कुवरलाई ६–१, ६–० मा तथा कमलेशले भारतकै रन्जित चौधरीलाई ६–१, ६–१ को सहज सेटमा पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । यसअघि पोखरामा सम्पन्न सर्किट वानमा नेपालका कमल भण्डारीले सेमिफाइनलमा मोहंतीलाई तथा फाइनलमा कमलेशलाई पराजित गर्दै उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको एकलमा पनि दुई भारतिय खेलाडी बिनोद सेट र नारायण मुर्ती विच फाइनल हुने भएको छ । सेमिफाइनलमा बिनोद सेटले पोखराका बिनोद कायस्थलाई ६–३, ४–६ र ६–२ को कठिन सेटमा पाखा लगाउँदै अन्तिम दुईमा स्थान बनाएका हुन् । त्यसैगरि नारायणले पोखराकै धरमबहादुर लामिछानेलाई ६–१ र टाई ब्रेकरमा ७–५ ले पराजित गरेपछि बिनोदसंगको भेट पक्का गरेका हुन् ।

५५ वर्ष माथिक एकलतर्फको खेल भने रोचक हुने भएको छ । यसअघि सर्किट वानमा भारतका डा.प्रदिप कुमार गुप्तालाई पराजित गर्दै उपाधी जितेका नेपालका मनोज राणा यसपटक उपाधीका लागि उनकै भाई ई.पुनित कुमार गुप्तासंग भिड्ने भएका छन् ।

३५ वर्ष माथिको डबल्समा भारतका कमलेश शुक्ला र अभिनास कुवरको जोडिले पोखराका धरमबहादुर लामिछाने र मुनेष थापाको जोडिमाथि ६–३, ६–० को सहज नतिजा निकाल्दै फाइनलमा स्थान बनाए । त्यसैगरि ४५ वर्ष माथिको डबल्समा बिनोद कायस्थ र बिनोद सेटको जोडिपनि फाइनल पुगेको छ । बिनोद जोडिले पोखराकै समिर शेरचन र भारतका एनएस नेगीको जोडिलाई ६–४,६–२ को सहज सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।