निर्भिकतापूर्वक मतदानमा भाग लिन मतदातालाई आह्वान


धनुषा– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्भिकतापूर्वक मतदानमा भाग लिन मतदातालाई आह्वान गरेका छन् । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ रहेको भन्दै उनले यस्तो अाग्रह गरेका हुन् ।


आईतबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय तह तेस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था विगतका सबै निर्वाचनको भन्दा पनि बैज्ञानिक र व्यवहारिक भएको दावी समेत गरे । प्रमुख निर्वाचन आयुक्त यादवले सोमबार हुने निर्वाचनमा कुनै पनि खालको आधा, अवरोध आउने अवस्था नरहेको विश्वास पनि व्यक्त गरेका छन् । 


प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो र दोस्रो चरणको निर्वाचनमा भन्दा बढि प्रतिशत मत प्रदेश नम्बर २ को निर्वाचनमा खस्ने विश्वास पनि व्यक्त गरेका छन् । पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत मत खसेको स्मरण गराउँदै उनले तेस्रो चरणको निर्वाचनमा त्यो भन्दा बढि मत खस्ने दावी पनि गरे ।  सोमबार प्रदेश नम्बर २ को १ सय ३६ स्थानमा स्थानीय तह निर्वाचन हुँदैछ ।