पूर्व विशिष्ठ पदाधिकारीको सेवा सुबिधा सम्बन्धी विधेयक अघि बढ्यो


काठमाडौं – अब आउने संघीय संसदका सांसद सरहको मर्यादाक्रम दिने प्रस्ताव सहित पूर्व विशिष्ठ पदाधिकारीको सेवा सुबिधा सम्बन्धी विधेयक अघि बढेको छ । तर, पहिलो संविधानसभाका सदस्यले भने सो मर्यादाक्रम पाउने छैनन् ।

राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिले आइतबार बिधेयकमा सहमति जुटाएको हो । अब दोस्रो संविधानसभाका सदस्यहरुले पहिचान जनिने सभासदको लोगोसहित संघीय संसदका सदस्य सरहको मर्यादा पाउनेछन् ।

आर्थिक भार नथपिने गरी बरियताक्रम मिलाइएको उपसमितिका सदस्य रविन्द्रप्रताप शाहले बताए । पूर्व विशिष्ठ पदाधिकारी भन्नाले पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीकै लहरमा पूर्वसांसद र पूर्वसभासद पनि थपिएको छ ।

तर, पूर्व सांसदले पेन्सन लगायतका सुविधा पाउने छैनन् । संविधानसभाका सदस्य, व्यवस्थापिका संसद, प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्यले सरकारी अस्पतालमा निःशुल्क उपचारको सुविधा भने पाउने छन् ।

जीवनवहादुर शाहीको संयोजकत्वमा गठित उपसमितिले आफ्नो प्रतिवेदन समितिको पूर्ण बैठकमा पेश गर्नेछ ।