गजेन्द्र भण्डारी स्मृती पत्रकारिता पुरस्कार भिमपाणी वराललाई प्रदान


पोखरा – स्वः गजेन्द्र भण्डारी स्मृती सृजनशिल पत्रकारिता पुरस्कार २०७४ बाट पोखराका पत्रकार भिमपाणी वराललाई प्रदान गरिएको छ । स्वर्र्गीय भण्डारीको परिवारजनद्वारा स्थापित उक्त पुरस्कार नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गर्दै आएको उक्त पुरस्कार सोमबार पत्रकार बराललाई प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद तुलबहादुर गुरुङ, स्वः भण्डारीकी पत्नी सरस्वती भण्डारी र पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले नगद रु २५ हजार एक सय ११ रुपैयाँ, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरे । कार्यक्रममा बोल्दै सांसद गुरुङले पत्रकारीता क्षेत्रलाई ब्यवस्थित गर्नुपर्ने बताए । पत्रकारीता क्षेत्र राष्ट्रको चौथो अंगका रुपमा रहेकाले यस क्षेत्रको विकासका लागी सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले समाजको रुपान्तरण, सरकार र राजनीतिक दलहरुलाई सधै सहिमार्गमा ल्याउने काम पत्रकारीता क्षेत्रले मात्रै गर्ने सक्ने भएकाले पत्रकारीता क्षेत्र बलियो र ब्यवस्थित हुन जरुरी रहेको बताए । सांसद गुरुङले नेपाल पत्रकार महासंघ कास्कीले स्थापना गरेको पत्रकार कल्याणकारी कोर्षमा ५० हजार रुपैयाँ सहयोग समेत प्रदान गरे । सांसद गुरुङले नगद ५० हजार पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरे । पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकार महासंघले श्रमजिवी पत्रकार पक्षमा आवाज बुलन्द पार्नुपर्नेमा जोड दिदै यस्ता पुरस्कारले पत्रकारलाई पेशाप्रति इमान्दार बनाउने बताए ।

सम्मानित पत्रकार बरालले पुरस्कारले पत्रकारीता क्षेत्रमा अझै जिम्मेवारी बोधका साथ काम गर्ने प्रेरणा मिलेको बताए । उनी करिव दुई दशकदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । वराल हाल पोखरावाट प्रकाशित आदर्श समाज दैनिकमा कार्यरत छन् । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष कृष्ण थापा, अग्रज पत्रकार बद्रिविनोद प्रतिक, कोमलनाथ बराल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पत्रकार महासंघका सचिव रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।