शहीद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी


गौशाला – मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहीद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन् ।

स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा जाने निश्चित भएकै दिनदेखि जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई टिकट दिने निश्चित गरिसकेको राजपाले अन्तिम अवस्थामा आएर नदिएपछि मतदाता खुसी छैनन् । सदरमुकाम जलेश्वरमा गत वर्ष भदौ २३ गते ट्युसन पढेर फर्किने क्रममा आफ्ना १६ वर्षीय छोरा रोहन र २५ गते जलेश्वर – ८ स्थित बजारमा तरकारी किन्न गएका बेला प्रहरीले गोली हान्दा बुबा ७० वर्षीय गणेशप्रसादको निधन भएको थियो । विनयलाई जलेश्वरका सबै मतदाताले टिकट दिनुपर्ने माग गर्दै आएका थिए । उनले जलेश्वर नगरपालिकाको कुनै मुख्य पदमा टिकट पाउनेमा सबै जना विश्वस्त थिए ।

राजपाले विनयलाई नगरपालिकाका कुनै मुख्य पदमा मात्र नभएर आफ्नै वडाको वडाध्यक्ष वा वडा सदस्य पदमा समेत उम्मेदवार बनाएको छैन । राजपाले विनयलाई उम्मेदवार नबनाएर शहीद परिवारको अपमान गरेको स्थानीय मतदाता मनोजकुमार ठाकुरको बुझाइ छ ।

राजपा महोत्तरीका अध्यक्ष मण्डलका तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्माले राजपाले नगरपालिकामा जितेपछि मनोनयन हुने पदमा उनलाई दिइने बताए ।

राजपाले जलेश्वर नगरपालिका प्रमुख पदमा रामशंकर मिश्रलाई उम्मेदवार बनाएको छ । त्यस्तै एकै परिवारका हजुरबा र नाति शहीद भएका वडा नं ८ बाट शहीद परिवारको कुनै सदस्यलाई नभएर राजपा गठबन्धनमा रहेका सद्भावना पार्टीका नेता सुरेश सिंहका भाइ नरेशलाई उम्मेदवार बनाइएको छ ।

राजपाले शहीद परिवारलाई टिकट नदिएर अन्याय गरेको आरोप लगाउँदै जलेश्वर नगरपालिकाका मतदाता मुसाफिर साहले पनि निराशा व्यक्त गरेका छन् । महोत्तरीमा गत वर्ष मधेश आन्दोलन चलेको बेला एक महिलासहित नौ जना शहीद भएका थिए । रासस