नेपालमा हिमाली जिल्ला थपिए


काठमाडौं – नेपालमा हिमाली जिल्ला थपिएका छन् । रामेछाप, धादिङ, गोरखा र पूर्वी रुकुम अब हिमाली जिल्लाको वर्गीकरणमा परेका हुन् । यसैगरी पूर्वी नवलपरासी भित्री मधेसको जिल्ला भएको छ ।

 

रामेछाप, धादिङ, गोरखा र रुकुम यसअघि पहाडी जिल्लाको वर्गीकरणमा परेका थिए ।

संसदको विकास समितिले आइतबार पारित गरेको स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकमा जिल्लाहरुको नयाँ वर्गीकरण गरिएको छ जसमा पहिले पहाडी जिल्ला भनेर चिनिने चार जिल्लालाई हिमालमा राखिएको छ ।

रुकुम बिभाजन भएपछि पूर्वी रुकुमलाई पनि हिमाली जिल्लामा पारिएको छ । पूर्वी रुकुममा सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिका पर्दछन् ।

नवलपरासीबाट दुई जिल्ला बनेको परासी क्षेत्रलाई तराई र नवलपुर क्षेत्रको जिल्लालाई भित्री मधेसमा वर्गीकरण गरिएको विकास समितिका सदस्य गणेश पहाडीले जानकारी दिए ।