राष्ट्रिय जनता पार्टी माओवादीकेन्द्र प्रति बढी आक्रामक


काठमाडौं – राष्ट्रिय जनता पार्टी एमाले भन्दा माओवादीप्रति बढी आक्रामक देखिएको छ । बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा सार्वजनिक घोषणा पत्रमा यस्तो देखिएको हो । घोषणा पत्रमा अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण पनि समावेश गरिएको छ ।

माओवादी केन्द्रले लोकतान्त्रिक प्रणालीमाथि विश्वास नगर्ने र शक्तिको बलमा सत्ता कब्जा गर्ने नीति लिएको भन्दै राजपा नेपालले भनेको छ, ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनानले माओवादीको मूल चरित्र संघीयता विरोधी हो ।’

मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अराजकता मुख्यरुपमा माओवादीकै कारण भएको उसको आरोप छ । रमेश महतोका साथै ५२ जनाको मधेसीको हत्यामा माओवादी कैन्द्र नै मुख्य जिम्मेवार भएको समेत राजपा नेपालको घोषणापत्रमा उल्लेख छ ।

राजपाको मुख्य शत्रु माओवादी केन्द्र हो भन्ने प्रश्नमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, कसैलाई पनि मुख्य शत्रु भनेका छैनौं । हिजो तीन दलले मिलेर संविधान बनाएकै हुन् । तर, दुई दल संशोधनको पक्षमा आए र हामीले धन्यवाद भनेका छौं ।’

संविधान संशोधनको विपक्षमा उभिएका दलहरु भने मधेस विरोधी भएको उनले बताए । घोषणापत्रमा एमाले ढुलमुले चरित्र बोकेको पार्टी भएको र उसको नेतृत्व मधेस विरोधी भएको उल्लेख छ ।

साथै कांग्रेस भने संघीयता र समावेशी लोकतन्त्रप्रति प्रतिबद्ध नभएको उसले बताएको छ । राजपाले आफ्नो घोषणापत्रमा मधेस केन्द्रित दुई दल संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकमा व्यक्तिगत स्वार्थ हावी भएको र उनीहरुका कारण मधेस र मधेसीको बेइज्जत हुनुका साथै मधेस मुद्दा ओझेलमा परेको दाबी गरेको छ ।

यसैगरी राजपाले उम्मेदवारी दर्तापछि पनि विचार मिल्ने दलहरुसँग चुनावी तालमेल हुन सक्ने बताएको छ । अध्यक्ष मण्डलका सदस्य महतोले तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको बताए । राजपाको विचारसँग सहमत भए एमालेसँग पनि तालमेल गर्न सकिने भन्दै उनले भने, मतदान अघिसम्म पनि तालमेल हुनसक्छ । यो अधिकार स्थानीय तहमै छ ।’

यता राजपाले पहिलो र दोस्रो चरणको स्थानीय चुनाव बहिस्कार ग¥यो । तर, असोज २ मा प्रदेश २ का ८ जिल्लाका १३६ स्थानीय तहमा हुन लागेको चुनावमा भने सहभागी हुँदैछ । प्रमुख तीन दलले जनमत देखाएर संविधान जारी गरेको र एमालेसहितका दलले संशोधन असफल बनाएको भन्दै राजपा नेताहरुले जनमतका लागि चुनावमा जान लागेको बताए । अध्यक्ष मण्डलका सदस्य महतोले भने, ‘बहिस्कार गरेर जनमत प्राप्त हुने भएन । जनमत लिएर अधिकारको लडाई लड्न चुनावमा जान लागेका हौं ।’ साथै स्थानीय चुनावमा जनताले दिएको मतलाई राजपाले स्वीकार र सम्मान गर्ने उनले बताए ।