पोखरामा लगानीका सम्भावनाहरुबारे चीनको चासो


पोखरा – मित्रराष्ट्र चीनको कुन्मिनका उप प्रमुख लि जिगोङले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछिका लगानीका सम्भावनाहरुबारे आफूहरुले अध्ययन गरिरहेको बताउनुभएको छ ।
उहाँको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलको सम्मानमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विमानस्थल निर्माणपछि यहाँको पूर्वाधारको क्षेत्रमा आवश्यक पर्ने लगानी गर्न चिनियाहरु तयार रहेको समेत जानकारी दिनुभयो ।

‘विमानस्थल बनेपछि कुन्मिनबाट पोखराको हवाई यात्रा दुई घण्टाको हुन्छ, त्यो बेला धेरै चिनियाहरु पोखरा आउँछन्’,उहाँले भन्नुभयो,‘त्यो बेला यहाँको पर्यटनको क्षेत्रलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको सम्भावनाबारे हामीले चासो राखेका छौँ ।’ चिनिया पर्यटकहरुको वृद्धिसँगै आवश्यक पर्ने गाइड, चिनिया खानपान गर्ने रेष्टुरेण्टहरु तथा चिनिया भाषामा सामान्य कुरा गर्न सक्ने दोभासेको आवश्यकता औंल्याउँदै उहाँले चिनिया भाषा तालीमको लागि पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने घोषणा पनि गर्नुभयो ।

पोखरा र कुन्मिनको भौगोलिक वातावरण उस्तै रहेको बताउँदै उहाँले चीनको तीव्र आर्थिक विकासबाट लाभ लिन नेपाली उद्यमी÷व्यवसायीसँग आग्रह पनि गर्नुभयो । कार्यक्रममा भ्रमण दलका सदस्यहरुलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको विकास निर्माणमा पोखरा उद्योग वाणिज्य संघले खेलेको भूमिकाबारे चिनिया पक्षलाई जानकारी दिनुभयो ।

पोखराको आर्थिक विकासमा चीनको सहयोगको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले पोखरा उद्योग वाणिज्य संघ सम्भावनाका हरेक क्षेत्रमा कुन्मिनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु, उद्योग र वाणिज्यतर्फका उपाध्यक्षहरु क्रमशः गोकर्ण कार्की र विन्दु कोइराला सुवेदी, महासचिव रवीन्द्रबहादुर प्रजुलगायतको सहभागिता रहेको थियो ।