नेकपा एमाले र राप्रपाबीच तालमेल नहुने


काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षमा रहेका अर्को दल राप्रपाबीच तेस्रो चरणको स्थानीय निर्वाचनमा तालमेल नहुने भएको छ। राप्रपाले तालमेलका लागि अग्रसरता देखाए पनि एमालेले धेरै उत्साहि नदेखिएपछि दुवै पार्टी अन्तत: एक्लाएक्लै चुनाव लड्न लागेका हुन्।

राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीलाई सम्भव भएका ठाँउमा ‘राष्ट्रवादी’ शक्तिबीच तालमेल गरेर जानुपर्ने प्रस्ताव राखेका थिए। भर्खरै पार्टी फुटेकाले एमालेसँग मिलेर जाँदा त्यसले मनोवैज्ञानिक अर्थ राख्ने राप्रपाको ठम्याई थियो। तर एमालेले तालमेलका लागि खासै चासो देखाएन।

पहिलो चरणको निर्वाचनमा एमाले र राप्रपाले काठमाडौं, ललितपुर लगायतका ठाँउमा चुनावी तालमेल गरेका थिए। दोस्रो चरणको निर्वाचनमा भने राप्रपा सरकारमै थियो, त्यसैले यी दुई पार्टी बिच तालमेल अघि बढेन।

यसअघि राप्रपा अध्यक्ष थापाले सार्वजनिक रूपमै राष्ट्रवादी शक्तिहरु बिच आगामी चुनावहरुमा तालमेल हुने भन्दै आएका थिए।

यसपाली राप्रपासँग तालमेलका लागि किन एमाले इच्छुक नदेखिएको हो भन्ने प्रश्नमा एमाले नेता अग्नी खरेलले भने, ‘अघिल्लो पटकको हाम्रो अनुभव हेर्दा त्यस्ता तालमेल लाभदायी देखिएनन्। त्यसैले यसपाली हामीले तालमेलमा खासै जोड दिएनौँ।’

उनले एमाले-राप्रपा मात्र हैन कांग्रेस-माओवादी को तालमेल पनि उपलब्धिमुलक हुननसकेको जिकिर गरे।

‘भरतपुरमा पनि त्यसले काम नगरेकैले उहाँहरुले मतपत्र च्यातेर झेल गर्नुभयो,’ उनले भने ‘पछि पनि जित्नका लागि सारा राज्य लाग्नुपर्यो।’

जनताको तहमा तालमेलको माग नहुन्जेल ति प्रभावकारी नहुने रहेछन् भन्ने अघिल्ला चुनावले देखाएको उनले तर्क गरे।‘तर हामी तालमेलका लागि नकारात्मकनै भने छैनौ, अरु पनि चुनाव आँउदैछन्। फेरि पनि मेल्ने शक्तिसँग तालमेल हुन सक्छ,’ उनले भने।
एमालेले २० गतेनै प्रदेश नम्बर दुईका सबै स्थानीय तहका लागि आफ्ना उमेद्वारको टुंगो लगाइसकेको छ। राप्रपाले पनि अहिले केही बेरमा टुंगो लगाउने तयारी गरेको छ।
वीरगन्ज बाहेक अरु प्रमुख शहरमा उमद्वारी टुंगो लागेको राप्रपाका एक नेताले बताए । वीरगन्जमा राप्रपाले उमेद्वार नउठाएको खण्डमा एमालेका उमेद्वारलाई सघाउने सम्भावना पनि प्रवल छ।