एमालेका ओली सहितका शीर्ष नेताहरु बुधवारदेखि नै मधेश झर्ने


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितका शीर्ष नेताहरु बुधवारदेखि नै मधेश झर्ने भएका छन् । प्रदेश २ को स्थानीय चुनाव कमाण्ड गर्न उम्मेदवार मनोनयनकै दिन शीर्ष नेता मधेश झर्ने जानकारी एमालेले दिएको छ ।

मंगलबार प्रदेश २ का स्थानीय तहका उम्मेदवार घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचार बिभाग प्रमुख तथा एमालेले सचिव योगेश भट्टराईले अध्यक्ष ओलीसहित सबै नेता अब २ नम्बर प्रदेशका चुनावी अभियानमा सहभागी हुने बताए ।

एमालेबिरुद्ध मधेशमा भ्रम फैलाइएको बताउँदै एमालेले त्यसलाई चिर्न पार्टी पंक्ति सफल भएको बताएको छ । साथै सत्तारुढ गठबन्धनका बीच एमालेले २ नम्बर प्रदेशमा ५० प्रतिशत स्थानीय तह जित्ने सचिव भट्टराईले दाबी गरे ।

पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले मधेशमा पनि कांग्रेसले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर माओवादी र मधेशवादी दलसँग तालमेलको प्रस्ताव लिएर दौडिरहेको बताए । संविधान संशोधनको नाटक अब मधेशमा पटाक्षेप भइसकेको र एमालेविरुद्ध अपराधिक ढंगले आक्रमण भइरहेको उनको दाबी गरे ।

उनले राजमार्ग क्षेत्रमा मात्र होइन, दक्षिणी क्षेत्रमा पनि एमालेले चुनाव जित्ने दाबी गरे । एमालेले प्रदेश नम्बर २ का बिभिन्न जिल्लामा आफ्ना कार्यक्रम बिथोल्न खोज्ने, उम्मेदवारलाई मतदाताबीच पुग्न अबरोध गर्ने जस्ता क्रियाकलाप सत्ता संरक्षित व्यक्तिहरुले गरेको भन्दै सुरक्षा माग गरेको छ ।

पत्रकार सम्मेलनमा प्रदेश २ का संयोजक सत्यनारायण मण्डलले पछिल्लो समयमा मधेशका धेरै नेता कार्यकर्ता र सामाजिक व्यक्तिहरु एमाले प्रवेश गरिरहेको र असोज २ को चुनावमा पहिलो दल बन्ने दाबी गरे ।

मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने उनले बताए । सत्तापक्षले आफूबिरुद्ध घेराबन्दी गर्न खोजे पनि एक्लै चुनाव लडेर ५० प्रतिशत स्थानीय तह जित्ने दाबी एमालेको छ ।