बागमतीले बगाएर एकको मृत्यु, अझै दुई दिन पानी पर्छ : मौसमविद्


काठमाण्डौ – बागमती किनारमा १ जनाको शव फेला परेको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार नदीले बगाएर ल्याएको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। काठमाडौंको भिएस निकेतन स्कुल नजिकै अन्दाजी ३५ वर्षीय पुरुषको शव कहाँबाट बगेर आएको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।

राजधानीको बाफल क्षेत्रका केही भागमा पानीले घरहरु आंशिक डुबानमा परेका छन्। घरभित्र पानी छिरेर रातभरि सुत्न नपाएको स्थानीय बताउँछन्। बाफलको ज्ञानोदय माध्यमिक विद्यालयको तल्लो तलामा पानी छिरेकाले बिहीबार पढाइ रोकिएको छ। काठमाडौंका अन्य ठाउँमा भने पानीले कुनै क्षतिको नभएको प्रहरीले जनाएको छ।

त्यस्तै, ललितपुर प्रहरीका अनुसार नख्खु खोलाको एरियामा पर्ने केही घर डुबानमा परेका छन्। अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रियआापतकालीन सन्चालन केन्द्रका अनुसार मुग्लिङ नारायणगढ सडकमा पहिरो आएपछि अवरूद्ध भएको छ। रसुवाको धुन्चे-स्याप्रुबेसी सडकमा पनि पहिरोले अवरोध भएको छ। कुनै मानवीय क्षतिबारे जानकारी नआएको मन्त्रालय जनाएको छ।

जल तथा मौसम पूर्वानूमान महाशाखाका अनुसार मनसुन पर्सिसम्म सक्रिय हुनेछ। बितेका २४ घन्टामा काठमाडौं उपत्यकामा ५४ मिलिमिटर वर्षा भएको छ। यो मध्यम वर्षा हो। अोखलढुंगा र ताप्लेजुङमा पनि राति भारी वर्षा भएको छ।

बंगालको खाडी र अरब सागरबाट अाएको पानीको बाफ देशको उत्तरी भागमा एकीकृत भएकाले ठूलो वर्षा भएको हो। त्यसमा यहाँको स्थानीय पानीको बाफ पनि मिसिएको थियो। महाशाखाका मौसमविद् सुवास रिमालले अझै दुई दिन साँझ र राति पानी पर्ने सम्भावना रहेको बताए। पहाडी भेगमा वर्षा हुने भएकाले पहिरो तटीय क्षेत्रका बासिन्दालाई बाढी अाउन सक्ने भन्दै महाशाखाले सचेत हुन अनुरोध गरेको छ।