काहुँखोला–दुधपोखरी सडक स्तरोन्नतीलाई उच्च प्राथमिकतामा


पोखरा – कानुन, न्याय तथा संसदिय ब्यवस्था मन्त्रीय यज्ञ बहादुर थापाले काहुँखोला–दुधपोखरी सडक स्तरोन्नतीलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कास्कीको उत्तरपुर्वी गाउँहरुको विकासका लागि यो सडक बहुरणनीतिक भएकाले जतिसक्दो छिटो सडक निर्माण गरिसक्ने उनको प्रतिबद्धता छ ।

गुरुङहरुको एतिहासिक ठाउँ सिक्लेस पर्यटकीय गाउँ समेत भएकाले सडक स्तरोन्नती गर्न सके पयर्टन विकासमा टेवा पुग्ने थापाले बताए । नेपाली काँग्रेस क्षेत्र नम्बर १ कास्कीको आयोजनामा भएको काँग्रेस कार्यकर्ता लिलकाजी गुरुङको श्रद्धाञ्जली सभामा बोल्दै उनले गुरुङको ग्रामिण विकास सपना आफ्नो प्राथमिकतामा परेको बताए । ‘लिलकाजी आफ्नो गाउँ ठाउँको विकासमा दिनरात खट्नुहुन्थ्यो ।

वहाँले थाल्नुभएका अधिकांश योजना अधुरा छन्, भावुक हुँदै थापाले भने–अपुरा योजना पूरा गर्न सकेमात्रै गुरुङको सपना साकार हुन्छ । त्यो पूरा गर्ने दायित्व मेरो पनि हो ।’ गुरुङ कास्की क्षेत्र नम्बर एकका क्षेत्रीय सदस्य समेत हुन् । उनको यही भदौ २ गते ५५ बर्षको उमेरमा निधन भएको थियो । श्रद्धाञ्जली सभामा सांसद द्धय जीवन परियार र शारदा पौडेल, कास्की काँग्रेसका सभापति कृष्ण केसी, महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेविसंघ केन्द्रिय सदस्य भानु ढकाल र सरोज केसी लगाएतले गुरुङको समाजसेवाले काँग्रेसको समेत शिर ठाडो भएको भन्दै प्रशंसा गरे । क्षेत्रीय सभापति बृजमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव प्रेम कुमार श्रेष्ठले गरेका थिए ।

यसैबीच, मनोहर युवा क्लवको तीज गीत प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाहरुमा नेतृत्व र क्षमता विकासका कारण राष्ट्रिय समृद्धीले सघाएको बताए । उनले महिलामा हुने धेरै प्रकारको विभेद हटिसकेको उल्लेख गर्दै केही छुटेको भए महिला मैत्री नियम कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए । ‘महिलाहरु अहिले अधिकार सम्पन्न भएका छन् । पुरुषसरह प्रतिष्पर्धा गर्न सक्ने भएका छन्, उनले भने–अझै केही बिषय छुटेका हुन सक्छन् ।

कानुन निर्माण गर्दा छुटेका विषय समाबेश हुनेछन् ।’ उनले संविधानमै महिला अधिकार’bout स्पष्ट सम्बोधन गरेकाले कार्यान्वयनमा सघाउन आग्रह समेत गरे । मन्त्री थापाले देश चुनावमा होमिएकाले त्यसतर्फ लाग्न आग्रह गरेका छन् । मंसिर १० गते प्रदेश र संघको चुनाव एकैचोटी गर्ने निर्णय भएको छ, उनले थपे–चुनावमा सक्रिय सहभागी भएर काँग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ । त्यसका लागि तयारी थाल्नुस् ।’ कार्यक्रममा काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय चुनावमा ब्यहोरेको हारलाई समिक्षा गर्दै आगामी चुनावमा जित्ने गरी होमिनुपर्ने बताए । मन्त्री थापाले शुक्रबार नै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ को मोहोरिया टोलमा काँग्रेस कार्यकर्तासँग चियापान तथा भेटघाट गरेका थिए ।