देउवाले विदेशमा गएर संसदको धज्जी उडाए : ओली


काठमाण्डौ – प्रमुख प्रतिपक्षीदल  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि विदेशमा गएर संसदको धज्जी उडाएको आरोप लगाएका छन्।

शुक्रबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेपालको सार्वभौम संसदले गरेको निर्णयबारे विदेशका प्रधानमन्त्रीसँग असान्दर्भिक टिप्पणी गरेको भन्दै देउवामाथि यस्तो आरोप लगाएका हुन्।

स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जानुअघि ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गरेका थिए।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘नेपालको संसदले उहाँ आफैं सरिक भएर गरेको निर्णयलाई विदेशमा पुगेर धज्जी उडाउनु भएको छ। उहाँले गिड्गिडाएर क्षमा याचनाको भाषामा भन्नुभएको छ, प्रभु मैले सकिनँ कोशिस गरेथें, प्रभु मलाई सक्ने बनाइदेउ भन्ने ढंगको उहाँको हाउभाउ र अभिव्यक्ति छ।’

प्रधानमन्त्री देउवाले भारतभ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग असान्दर्भिक रूपमा संविधानको सर्वस्वीकार्यताको  कुरा उठाएको उनको आरोप छ।

मुलुकको स्वाभिमानको वास्ता नगरी देउवाले भारतीय पक्षलाई खुसी पार्ने संविधान संशोधन अस्वीकृत गर्ने संसदको निर्णयबारे टिप्पणी गरेको बताए।

प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउने कोशिश जारी रहेको बताएका थिए।

उनले संविधान संशोधनका लागि पुन:प्रयास गरिने उनले उक्त पत्रकार सम्मेलनमा बताएका थिए। ओलीले आफू नियमित स्वास्थ्यपरिक्षणका लागि थाइल्याण्ड जान लागेको जानकारी समेत दिए । उनीसँग श्रीमति पनि सँगै थाइल्याण्ड गएकी छिन् ।  ओली बुधबार स्वदेश फर्किने बताइएको छ । उनी यसअघि जेठमा पनि उपचारका लागि थाइल्याण्ड गएका थिए ।